Home Blog Page 271

“पटके” भन्नाले “प्राकृतिक व्यक्ति” बुझ्ने भनेर सहमति

0

“पटके” को स्थानमा “प्राकृतिक व्यक्ति” राख्ने सहमति भएकाे छ । हिजाे आन्तरिक राजस्व विभागले नियमित र पटके भनेर सूचना जारी गरेपछि यसकाे मतलव के हाे भनेर लगानीकर्ताहरूमा एक किसिमकाे अन्याैलता भएकाे थियाे ।

साे विषयमा आज लगानीकर्ताका ३ वटा संगठनका प्रतिनिधीहरू र आन्तरिक राजस्व विभागका अधिकृतहरूबीच छलफल भएको थियो ।

विभागका डि. जि. दिर्घ मैनालीसहित अन्य अधिकृतहरु समेतको उपस्थितिमा भएको छलफलमा अब “पटके” को स्थानमा “प्राकृतिक व्यक्ति शब्द” राखिने सहमति भएको छ ।
छलफलमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

हिजाे आन्तरिक राजस्व विभागले के भनेको थियाे ? हेर्नुस्

“आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषय विभिन्न संचारमाध्यमवाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघद्धारा जारी संयुक्त प्रेश विज्ञप्ति समेत प्राप्त हुन आएको सन्दर्भमा निम्नानुसार स्पष्ट गरिएको व्यहोरा अनुरोध छ। नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा सावि बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।”

नेप्सेमा दोहोरो अंकको वृद्धि

साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य सार्वजनिक भएको दुई दिनमा नै ९१.९८ अंकको घटेको नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको हो । बिहीबार बजार परिसूचक नेप्से १६.५४ अंकले वृद्धि हुँदा १८६६.३४ अंकमा बन्द भएको छ ।

बजेटको अघिल्लो दिन १७.३५ अंकले घटेको नेप्से १५ जेठमा बजेट वक्व्य सार्वजनिक भएपछि १६ जेठ र १७ जेठमा क्रमशः ५३.१६ अंक र ३८.८२ अंकले घटेको थियो । बजेटपछि कारोबारमा १०९.३३ अंकले घटेको थियो । त्यसअगाडि कारोबार भएको लगातार ७ दिनसम्म नेप्से कुल १४० अंकले बढेको थियो ।

बिहीबार भने सबै उपसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा उपसूचक सर्वाधिक १.९३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबार रकम भने घटेको छ । बुधबार नेप्सेमा कुल २ अर्ब ३१ करोड ५२ लाखको सेयर कारोबार भएको थियो । तर, आज भने कारोबार रकम घटेर १ अर्ब ६५ करोड ४६ लाख छ । २९ हजार ९२२ वटा कारोबारमा ६१ लाख २८ हजार ६२१ कित्ता सुचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये प्रभु बैंकको संस्थापक सेयर २३ करोड २१ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ११ करोड २५ लाख र एनआईसी एशिया बैंकको ४ करोड ५६ लाखको सेयर कारोबार भएको छ ।

नेप्सेमा बिहीबार कुल २१९ सुचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ३७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकोमा जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशतले वृद्धि भएको छ भने विपीडब्लु लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशत र एशियन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले वृद्धि भएको छ ।

यता सनराइज फोकस इक्वीटी फण्डको इकाइ मूल्य ६ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ५.४२ प्रतिशत र माईखोला हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले घटेको छ ।

‘सर्पकाण्ड’मा मेरो संलग्नता पुष्टि गर्नुस्,म हत्कडी लाएर जेल जान तयार छु : झलनाथ खनाल

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्लाहीमा सर्प पालनको योजनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । साथै उनले आफ्नो संलग्नता पुष्टि गरे अहिले नै हत्कडी लाउन तयार रहेको बताएका छन् ।

‘म के भन्न चाहन्छु भने यदि त्यो केसमा मेरो संलग्नता भेटियो र एक पैसा मात्रै पनि मबाट दुरुपयोग भएको छ भने अहिले नै हत्कडी लाउन तयार छु’ उनले भने ।

नेकपा एकीकृत समाजवादीका नेता खनालले सर्पपालनको योजनालाई लिएर आफूमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे । ‘अख्तियार र अरु तमाम संस्थालाई भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्’ उनले भने ।

आफ्नो राजनीतिक जीवन ६० वर्षको पुगेको भन्दै खनालले यस अवधिमा कुनै आपराधिक सोच नराखेको बताए । ‘मैले राजनीतिलाई कमाइ खाने धन्दा ठानेको छैन’ उनले भने ।

सर्लाहीमा सर्पले टोकेको औषधिको रुपमा प्रयोग गर्ने एन्टी स्नेक भेनम बनाउन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारबाट अनुदान लिएको थियो । तर खनालले उक्त प्रतिष्ठानमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

खनालले सर्लाहीमा सर्प फार्मको योजनामा आफ्नो नाम कसरी जोडियो भन्नेबारे पनि प्रष्टीकरण दिएका छन् ।

भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्नुपर्ने बताएका खनालले केही हल्ला मेरा बारेमा पनि चलेको भन्दै ‘सर्पकाण्ड’ बारे व्याख्या गरेका थिए ।

खनाल २०७० सालमा नेकपा एमालेको अध्यक्ष थिए र संविधानभाको चुनावमा सर्लाही–१ बाट उम्मेदवार बनेका थिए । चुनावी अभियानका क्रममा एउटा घरमा पुग्दा ९÷१० वर्षका बालक आँगनमा मृत अवस्थामा देखेको र बाबु आमा छाती पिटीपिटी रोइरहेको आफूले देखेपछि भावविह्वल भएको बताए ।

सर्पले टोकेर बालकको मृत्यु भएको उक्त घटनापछि आफूले सर्लाहीका एमाले नेताहरुलाई बोलाएर सर्पदंशको समस्याबारे सोधेका थिए ।

त्यतिबेला जिल्लाका नेताहरुले सर्लाही नेपालमा सबैभन्दा धेरै सर्प पाइने जिल्ला भएको र सर्पले टोकेर धेरैको ज्यान गएको जानकारी गराएका खनालले बताए । सर्पले टोकेपछि तत्कालै एन्टीस्नेक भेनम दिन सकेमा मात्र मान्छे बचाउन सकिने नभए मृत्यु हुने पनि जानकारी पाएको भन्दै खनालले त्यसपछि आफूले स्वास्थ्य मन्त्रालय र विशेषज्ञहरुसँग कुरा गरेको बताए ।

‘त्यसै दिन एउटा कमिटी बनाएर उच्चतम रुपमा हामीले के गर्न सकिन्छ प्रस्ताव अगाडि सार्नुस् म अगाडि बढाउँछु भनेँ’, खनालले भने, ‘त्यसपछि उहाँहरुले प्रस्ताव बनाउनुभयो । सर्पको भेनम निकाल्न सर्पकै विष निकाल्नुपर्छ । त्यसपछि घोडामा चेक गरिन्छ, त्यसलाई प्रशोधन गरेर भेनम बनाइने रहेछ ।’

त्यसका लागि सर्पफार्म, घोडाफार्म र भेनमको कारखाना बनाउनुपर्ने प्रस्ताव आएको उनले बताए । त्यसपछि सर्लाहीको टोलीले एउटा संस्था बनाउने भनेर आफूसँग भेट गरेको खनालको भनाइ छ ।

‘तपाईकै सोचविचारको उपज भएकाले, हामी झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछौं त्यसमार्फत सरकारसँग कोल्याबरेसन गर्छौं, नाम राख्ने स्वीकृति दिनुप¥यो भन्न आउनुभयो’ खनालले भने ।

आफूले आनाकानी गर्दा पनि केही फरक पर्दैन भनेर विश्वास दिलाएपछि आफ्नो नाम राख्न अनुमति दिएको उनले बताए ।

‘मैले मेरो नाम राख्ने अनुमति जस्ट यत्ति दिएको हो । यसमा मेरो संलग्नता छैन, न म्यानेजमेन्टमा संलग्नता, न आर्थिक संलग्नता, खाली मेरौ नैतिक रुपमा संलग्नता मात्र हो’ उनले भने, ‘खाली नेपालमा यस्तो उद्यम बनोस्, भेनम बनोस्, नेपाली जनताले सेवा प्राप्त गरुन् मेरो चाहना हो ।’

पछि उक्त संस्थालाई प्रदेश सरकारले १२–१५ करोड रुपैयाँ दिएको थाहा पाएको भन्दै खनालले ७२ करोड लिएर झलनाथले क्वाप्पै खायो भनेर हल्ला चलाइएको बताए ।

‘केही मुठ्ठीभरका साइबर स्यालहरु छन् । तिनीहरुले यो प्रचार गर्छन्’ उनले भने, ‘तिनीहरुको काम अरु छैन कि, मेरो इन्टरभ्यू आएपछि तल (सामाजिक सञ्जालको कमेन्टमा आलोचना) थालिहाल्छन् ।’

नेपालबाट समुद्रसम्म पानी जहाज चलाउन बाटो खुल्यो

0

नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुन सकेको थिएन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सन्धि संशोधनमा हस्ताक्षर पनि एक हो ।

विगत ४ वर्षसम्म पारवहन सन्धि नवीकरण नै नभएको अवस्थामा यसमा हस्तक्षर हुनु महत्वपूर्ण भएको प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।

बिहीबार भारतको नयाँ दिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पियूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो । ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुक पारवहन सन्धि नवीकरण नै नभई रहँदा सहज भएको थिएन। यो महत्वपूर्ण उपलब्धि हो’ मरासिनीले भने । नेपालले अब सडक, रेल र जल तीनवटै मार्गबाट समुद्रसँगको पहुँच पाएको उनले बताए ।

सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ ।

भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने यस मामलाका जानकार वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजुले बताए ।

प्रचण्डले मोदीसङ्ग ईपीजी रिपोर्टबारे कुरै उठाएनन,केही कुरा भएन : भारतीय विदेश सचिव

0

हैदरबाद हाउसमा भएको भेटमा नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको (ईपीजी) रिपोर्टबारे कुराकानी नभएको भारतीय विदेश सचिवले जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदबीच हैदराबाद हाउसमा वान अन वान कुराकानी भएको थियो । साथै प्रतिनिधिमण्डल स्तरमा पनि वार्ता भएको थियो ।

सात सहमति तथा सम्झौता आदान प्रदान गर्दै दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरे।

तर संयुक्त पत्रकार सम्मेलनमा दुबै प्रधानमन्त्रीले ईपीजीबारे बोलेनन् । भेटपछि भारतीय विदेश मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा सचिव विनयमोहन क्वात्रालाई ईपीजी रिपोर्टबारे कुराकानी भयो भनेर पत्रकारहरुले प्रश्न गरेका थिए ।

जवाफमा उनले आफूले थाहा पाएसम्म वान अन वान र प्रतिनिधिमण्डल स्तरको कुराकानीमा ईपीजीसँगै अग्निपथ योजनाबारे कुराकानी नभएको बताए ।

नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले सहमतिमा तयार पारेको रिपोर्ट पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति छ । तर भारतीय प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन अहिलेसम्म बुझेका छैनन् ।

नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रम मोदीबीच भेटवार्ता

0

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

अब आलु, प्याज र स्याउमा पनि भ्याट लाग्ने,मुल्य १३ प्रतिशत बढ्ने

0

नेपाल सरकारले बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयक–२०८० मार्फत आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तुहरुमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निस्चित भएको छ । यो सङ्गै केही तरकारी र फलफूलसहित मट्टीतेलमा समेत भ्याट लगाएको छ ।

तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) मा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, ऐंसेलु, श्रीफल, चेरी, स्ट्रबेरी, ब्ल्याकबेरी र हलुवाबेदमा भ्याट लगाएको छ ।

त्यस्तै फ्रोजन गरिएका आलु, कोसे तरकारी, केराऊ, बोडी, सिमी, पालुँगो, गुलियो वा स्वादिलो मकैसमेतमा भ्याट लाग्ने व्यवस्था आर्थिक विधेयकले गरेको छ । यसअनुसार कफी र किसमिसमा पनि भ्याट लागु गरिएको छ ।

साथै फ्रोजन मासु तथा माछामा पनि भ्याट लाग्ने बनाइएको छ ।डिजेल र पेट्रोल, मट्टीतेलमा पनि कर लाग्नेछ । अब ऊन, धागोलगायत वस्तुमा पनि भ्याट लाग्नेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले १ सय ६७ वस्तुहरुमा भ्याट लगाउने घोषणा गरेका थिए । अब यस्ता वस्तु खरिद गर्दा पनि उपभोक्ताले थप १३ प्रतिशत कर तिर्नुपर्ने छ ।

यसरी आधारभूत कृषि उत्पादनमा भ्याट लागु भएपछि ती वस्तुहरु न्यूनतम् १३ प्रतिशतले महँगो हुनेछन् । भ्याट लाग्ने वस्तुको मूल्य तत्कालै १३ प्रतिशतले बढ्ने छ ।

५० लाखसम्मको कारोबार गर्नेहरु भ्याटमा जानु नपर्ने भएकाले यो व्यवस्थाले नेपालका साना किसानलाई फाइदा पुग्नेछ ।

यसअघि भ्याट छुट दिइएका कृषिमा प्रयोग हुने सेमी ट्रेलर र ट्याक्टरमा पनि भ्याट लगाइको छ । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने गरी बनाइएको स्कुटर, कमोड चियर, फर्निचर र तिनका पार्टपूर्जाहरू, वाकरमा समेत भ्याट लाग्ने बनाइएको छ ।

हवाई यात्रामा भ्याट लगाइएकाले त्यो पनि महँगो हुन सक्नेछ । तर, हवाई कम्पनीहरु भ्याटमा दर्ता हुने भएकाले कर फिर्ता लिन पाउँछन् । ढुवानी साधनको भाडा र ढुवानी सेवामा पनि भ्याट लाग्नेछ ।

किसानले उत्पादन गरेको, साना व्यवसायीले बेचेको तरकारी फलफूलमा भ्याट लाग्दैन तर ५० लाख भन्दा माथिको कारोबार हुन्छ भने भ्याट तिर्नुपर्छ ।

सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड

0

सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च  एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन एक लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

सेयरबाट करोडौं कमाउनेले कर पनि तिर्नुपर्छ , यसै छोड्न सकिदैन

0

अर्थतन्त्रमा समस्या छ । समस्यालाई स्वीकार गरेर अब अगाडि बढ्नुपर्छ । समस्या एक वर्षमा मात्र आएको होइन । लामो समयदेखि समस्या थपिएका हुन् । समस्या स्वीकार गरेर त्यो विन्दुबाट अगाडि गयौं भने हामीले अफ्ठ्याराहरुलाई हटाउँदै जान्छौं ।

समस्यालाई स्वीकार गर्न सकेनौं भने समस्या थपिदै जान्छन्, घट्दैनन् । समय हामीसँग कम थियो । धेरै गृहकार्य गर्न सकनौं । त्यसको बाबजुत मैले इमानदार प्रयास गरेको छु । सरकारको संरचनाभित्र काम गर्न अफ्ठ्यारो छ ।

नीतिगत प्रतिबद्धताका कारण कतिपय विषयमा हामी पछाडि फर्कन सक्ने अवस्था छैन । सामाजिक सुरक्षा एउटा विषय हो । त्यसकारण बजेटको सुरुमै मैले यसबारे उल्लेख गरेको थिएँ । साधारण खर्च पनि घटाउन नसक्ने अवस्था आएको छ । सँगै वित्तीय दायित्व पनि सावाँ ब्याज तिर्नुपर्ने, यसबाट फर्कन नसक्ने भएको छ । यो सीमितताका विषयमा मैले बजेटको सुरुमै भनेको छु ।

हामीसँग दुई समस्या छन्, एउटा नीतिगत समस्या छन्, जहाँबाट सहजै उम्कन सक्ने अवस्था छैन । यसलाई स्वीकार गरेर जहाँनेर हामीले प्रतिबद्धता व्यक्त गरेका छौं, त्यसलाई निरन्तरता दिएर अरु रिफर्म गर्न सकिन्छ, कसरी अर्थतन्त्रको साइज बढाउन सकिन्छ भन्ने कोसिस मेरो थियो ।

अर्को कार्यान्वयन तहको समस्या हो । हामीले जे विनियोजन गर्छौं, त्यसको कार्यान्वयनमा सुधारको प्रक्रिया बुँदागत रुपमा बजेटमा आउने गरेका थिएनन् । यसरी पूँजीगत खर्च प्रभावकारी बनाउन सकिन्छ, यी ‘स्टेप’ लियो भने प्रभावकारी बनाउन सकिन्छ, प्रणालीमा सुधार मार्फत गर्न सकिन्छ भन्ने बुँदागत रुपमा उल्लेख गरेको छु । फेरि पनि कार्यान्वयनमा चुनौती त छँदैछन् । यो भएपछि पूँजीगत खर्च बढ्छ । त्यसले अर्थतन्त्रलाई गति दिन्छ ।

साधारण खर्चको कुरामा निश्चित दायित्व छ, यसमा तलब छ, भत्ता छ, सामाजिक सुरक्षा छ, त्यो सबैमा छुट्याएपछि खर्च कम गर्ने प्रशासनिक खर्च कम गर्ने हो । यसमा जे जति सम्भव छ, त्यसलाई घटाउन इमानदार प्रयास भएको छ । पूँजीगत खर्चको प्रभावकारिता बढाएपछि वैदेशिक सहयोग पनि त्यही अनुसार आउन थाल्छ । त्यसपछि थप सहयोग आउने सम्भावनाको ढोका खुल्छ । अहिले त हामीले खर्च गरेर देखाउन सकेका छैनौं । यसले हाम्रा सहयोगीहरुसँग यति दिनु पर्यो भन्ने कुराको कुनै अर्थ हुँदैन ।

विदेशी सहयोगको कुरा गर्दा प्राथमिकता महत्वपूर्ण हुन्छ । केमा सहयोग लिने, कुन शर्तमा लिने, लिन पायो भन्दैमा जे पनि लिने यो गर्नुहुँदैन । प्राथमिकीकरण गर्न नसक्दा कतिपय लगानी अनुत्पादक रुपमा आएको र यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न नसकेको यथार्थलाई पनि स्वीकार गर्नुपर्छ ।

समग्रमा बजेट र विनियोजनमा आमूल परिवर्तन भएको छैन । स्वाभाविक रुपमा जहाँ, जेजे खर्च गर्नुपर्ने हो त्यसको पूरै पुनर्संरचना गर्न हामीसँग समय पनि थिएन । म आउँदा सिलिङ नै तय भइसकेको थियो । यसमा कतिपय दायित्वकै कुराहरु थिए । शिक्षा मन्त्रालयको कुरा आउँदा राखेकै रैनछ, त्यसले २०/२१ अर्ब थपियो, स्वास्थ्यमा त्यस्तै कुरा आयो । कतिपय भौतिक मन्त्रालयको दायित्वको कुरा आयो । यो अनिवार्य रुपमा थप्नु परेको कारणले बजेट १६ सय ८८ अर्बको सिलिङबाट १७ सय ५१ अर्बमा पुग्यो । यद्यपि, योभन्दा पनि ठूलो बजेट हुनुपर्छ भन्ने दबाब थियो ।

राजस्व उठाउने चुनौती छ, यो स्वीकार गर्छु । तर, राजस्वलाई ‘र्‍यासनलाइज’ गर्ने कोसिस गरिएको छ । आन्तरिक उत्पादनलाई संरक्षण गर्ने प्रयास भएको छ । कसैलाई फाइदा पुग्छ वा पुग्दैन भन्ने हेरेर कर निर्धारण गरिएको छैन । अर्थतन्त्रलाई चलायमान हुने गरी कर निर्धारण गरिएको छ । करको दायरा पनि वृद्धि भएको छ । काराधार फराकिलो समेत बनाइएका कारण कर भेटाउन सकिन्छ भन्ने विश्वास छ । विनियोजित बजेटको लक्ष्य पनि भेट्टाउन सकिन्छ ।

ऋणको सावा ब्याज तिर्नुपर्ने अवस्था अझै बढ्दै जाने अवस्था छ । भूकम्प र कोभिडको बेलामा उदारतापूर्वक स्रोत छुट्यायौं । ऋण लियौं । यसले दायित्व थपिएको हो । यस पटक पनि थपिएको हो । यसले पूँजीगत खर्च भन्दा ऋणको दायित्व धेरै देखिएको हो । त्यही पनि साधारण खर्च भित्र पनि पूँजीगत खर्चको अंश पूँजीगत खर्चमा राखिएको छ । समग्रमा ४ खर्ब ७१ अर्ब पूँजीगत खर्चको हिस्सा छ । तर, वर्गीकरणमा पूँजीगत खर्च कम देखिएको हो । जति विनियोजन भएको छ, यसलाई सार्थक रुपमा पुरै खर्च गर्न सकियो भने उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ ।

सांसद कोषको चर्चा बढी नै भइरहेको छ । कतिपय अवस्थामा यो बजेटले जे सुधार गरेको छ, त्यसलाई पनि छायाँमा पार्ने गरी यो विषय ‘हाइलाइट’ भएको छ । यो चाहिनेभन्दा ज्यादा भयो । १ सय ६५ निर्वाचन क्षेत्रमा जाने ५ करोड रकम पनि पूँजीगत खर्च नै हो । यो सांसदले आफूखुसी बाँड्ने होइन । सांसदले खर्च गर्नासाथ दुरुपयोग हुन्छ भन्ने मान्यताप्रति म सहमत छैन । सांसदले खर्च गर्दैनन्, उनीहरुले सिफारिस मात्र गर्ने हो, आयोजनामा १/१ करोडको सीमा राखिएको छ । ठेक्का प्रक्रिया सम्बन्धित मन्त्रालयले अगाडी बढाउँछ । त्यसबाट नै ठेक्का लाग्छ । सांसद त्यो क्षेत्रको जानकार नै हो । जनताले निर्वाचित गरेर आएको हो । सबैभन्दा उपयोगी लगानी उहाँहरुलाई बढी थाहा हुन्छ । उहाँहरुबाट सिफारिस नै आउनु हुन्न भन्नेसँग म सहमत छैन । सांसद विकास कोष होइन, संसदीय क्षेत्र विकास कार्यक्रम यसको शीर्षक हो । जसरी मिडियामा यसलाई हाइलाइट गराएर बजेटका राम्रा र सुधारका पक्षलाई ओझेलमा परेका छन् । निजी लगानी आकर्षित गर्ने, सूचना प्रविधिका विषय छन् । तर, सांसदलाई दिएको ८ अर्ब नै सबै बजेट हो जस्तो गरिएको छ । अरु सम्पूर्ण कुरा नै बिर्सेर केही नपाएर यसमा मात्रै आलोचना भइरहनुको तुक मैले देखेको छैन ।

जहाँसम्म विद्युतीय सवारीको कुरा छ, त्यसमा पनि स्ल्याव हेर्नु भयो भने एउटै प्रोग्रेसनमा गएको छ । कर बढाएका कारण इलेक्ट्रिक गाडी छाडेर पेट्रोलियम सवारीमा जाने कुनै पनि गुन्जायस छैन । किनभने पेट्रोलियम गाडीभन्दा अझै पनि धेरै कम कर विद्युतीयमा छ । त्यसो हुँदा आफूलाई जे कुरामा फाइदा हुन्छ, त्यही नै होस् भन्नु भएन । विद्युतीय सवारीको करमा शंका भनेर आइरहेको छ । के शंका हो ? थाहा छैन । केही स्वार्थ समूह यसबाट बेखुसी होलान्, तर समग्र जनता यसबाट बेखुसी छैनन् । नीतिगत दुरुपयोग हुनसक्ने सम्भावनालाई कम गर्न पनि करमा परिवर्तन गरिएको हो ।

भ्याटमा पनि सुधार गर्न खोजिएको छ । भ्याटमा छूटको सूचि थपिंदै गएको थियो । त्यसलाई हामीले सुधार गरेका छौं ।

सेयर मार्केट खत्तम भो भनिएको छ । ६० लाख लगानीकर्ता खत्तम भए भनिएको छ । जसले नियमित व्यवसाय यसलाई बनाएका छन्, उनीहरुले आम्दानीको स्रोत नै यसलाई बनाएका छन्, यो प्रचार गरेका छन् । अहिले जो सानो जागिर खान्छ, ५/६ लाख वर्षमा कमाउँछ, उसले कर तिर्नु पर्ने, जसले करोडौं सेयर बजारबाट कमाउँछ, उसले कर तिर्नु नपर्ने स्थिति छ । यो हुनुहुँदैन । त्यसकारण यसलाई प्रणालीमा ल्याउनै पर्छ । संगठित रुपमा, राजनीतिक तहमा प्रभाव पार्नेको कुरा सधैँ सम्बोधन हुने, आम नागरिकको कहिले पनि सम्बोधन नहुने? यो हुन सक्दैन । त्यसकारण जो नियमित व्यवसाय गरिरहेको छ, ठूलो लगानी गरिरहेको छ, बजारलाई स्वाट्टै तल लैजाने र माथि लैजाने काम गर्छ, तल लगेर किनेर पुनः माथि लगेर तुरुन्तै बेच्छ । यस विषयलाई उचाल्न त्यो स्वार्थसमूह लागेका छन् भन्ने मलाई थाहा छ । वास्तवमा यो अर्थमन्त्रीको जोखिम हो । इमानदार हुँदाको जोखिम । इमानदारीपूर्वक सुधारको कदम चाल्दा स्वार्थ समूह चलमलाएको हो ।

निबुवा निचोरे जस्तो गरेर राजस्व बढाउन सकिन्न । जसले कानूनतः तिर्नुपर्छ, उसको प्रभाव प्रयोग गरेर तिर्दैन, त्यसलाई छुन सकिरहेको छैन । उनीहरु त करको दायरामा आउनुपर्छ । यस विषयमा मैले इमानदार कोसिस गरेको छु । त्यही अनुसार लिइदिनुहोला ।

-अर्थमन्त्री डा. महत

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै

0

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएकोछ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।