मल्टीपर्पस फाइनान्सको नाफा ७५% भन्दा बढीले घट्यो

spot_imgspot_imgspot_img

काठमाडौं — मल्टीपर्पस फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट आएको छ।

समीक्षा अवधिमा कम्पनीले ५३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ करोड १६ लाख रुपैयाँको तुलनामा ७५.४१ प्रतिशतले कम हो। कम्पनीका अनुसार खुद ब्याज आम्दानी घट्नु र सञ्चालन खर्च बढ्नु नै नाफा घट्नुका प्रमुख कारण हुन्।

कम्पनीको खुद ब्याज आम्दानी १८.०९ प्रतिशतले घटेर ५ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै सञ्चालन खर्च ४ करोड १५ लाखबाट बढेर ५ करोड २९ लाख रुपैयाँ पुगेको छ। यसै कारण खुद सञ्चालन आम्दानी पनि ७ करोड ४० लाखबाट घटेर ६ करोड १२ लाख रुपैयाँमा झरेको छ।

यस अवधिमा कम्पनीको खराब कर्जा अनुपात ५.३६ प्रतिशतबाट बढेर ७.४४ प्रतिशत पुगेको छ, जसले वित्तीय जोखिम बढेको संकेत गर्छ।

६१ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ १ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ ९ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यी क्रमशः १ करोड २१ लाख र १३ करोड ६० लाख रुपैयाँ रहेका थिए।

सकारात्मक पक्षतर्फ, कम्पनीको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ। निक्षेप ३ अर्ब १७ करोडबाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ अर्ब ८८ करोडबाट बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.३१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य ७२६.१२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ५७६.८१ गुणा र तरलता अनुपात ४७.३५ प्रतिशत रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here