काठमाडौं — चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपालका वाणिज्य बैंकहरूले समग्रमा ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिसम्म बैंकहरूले ४१ अर्ब १२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका थिए।
अधिकांश बैंकहरूको खुद ब्याज आम्दानीमा खासै वृद्धि नदेखिए पनि नियामकीय सहुलियतका कारण नाफामा सुधार देखिएको हो। नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण सुविधाले बैंकहरूको वित्तीय प्रदर्शनमा सकारात्मक प्रभाव पारेको छ।
तेस्रो त्रैमाससम्म १३ वटा बैंकहरूको नाफामा उल्लेख्य वृद्धि हुँदा ७ वटा बैंकहरूको नाफा भने घटेको छ। सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ, जसले ६ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ। यो गत वर्षको तुलनामा ३३.९२ प्रतिशतले बढी हो।
नाफा वृद्धिदरका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ। यस बैंकले गत वर्षको तुलनामा १३६१.७६ प्रतिशतले नाफा वृद्धि गरेको छ। विपरीत, प्रभु बैंकको नाफा सबैभन्दा धेरै घट्दै ५४.६१ प्रतिशतले ओरालो लागेको छ।
ब्याज आम्दानीमा सामान्य सुधार
तेस्रो त्रैमाससम्म बैंकहरूको कुल खुद ब्याज आम्दानी १ खर्ब ४२ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २.०९ प्रतिशतले मात्र बढी हो। अघिल्लो वर्ष सोही अवधिमा यो आम्दानी १ खर्ब ३९ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ थियो।
ब्याज आम्दानीका हिसाबले पनि नबिल बैंक शीर्ष स्थानमा रहेको छ, जसले १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। व्यवसाय विस्तारका आधारमा भने राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएको छ, जसको ब्याज आम्दानी २२.५८ प्रतिशतले बढेको छ।
एनपीएलमा आंशिक सुधार
तेस्रो त्रैमाससम्म आइपुग्दा आधा वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात (एनपीएल)मा सुधार देखिएको छ। नबिल, ग्लोबल आइएमई, एभरेष्ट, कुमारी, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे र नेपाल एसबीआई बैंकले एनपीएल घटाएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार ५ प्रतिशत वा सोभन्दा कम एनपीएल भएको बैंकलाई वित्तीय रूपमा स्वस्थ मानिन्छ। सो आधारमा एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, एनएमबि, नेपाल बैंक र ग्लोबल आइएमई बैंक स्वस्थ अवस्थामा रहेका छन्।
यस अवधिमा सबैभन्दा उच्च एनपीएल एनआइसी एशिया बैंकको ८.८५ प्रतिशत पुगेको छ।
इपीएस र लाभांश क्षमतामा सुधार
नाफा बढेसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ। तेस्रो त्रैमाससम्म सबैभन्दा बढी इपीएस नबिल बैंकको ३३.०२ रुपैयाँ रहेको छ, जुन ७.९७ रुपैयाँले वृद्धि हो।
इपीएस वृद्धिमा कुमारी बैंक अग्रस्थानमा छ, जसको इपीएस १९.७९ रुपैयाँले बढेको छ। यद्यपि, एनआइसी एशिया, ग्लोबल आइएमई, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको इपीएस घटेको छ।
लाभांश क्षमताको हिसाबले एभरेष्ट बैंक सबैभन्दा अगाडि रहेको छ, जसको क्षमता २९.५१ प्रतिशत छ। तर एलआइसी एशिया, हिमालयन, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी र सिटिजन्स बैंक भने लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन्।




