Home Blog Page 284

प्रभु लाइफद्वारा लाभांश घोषणा

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनील आर्थिक वर्ष २०७७–७८ को लाभांश घोषणा गरेको हो ।

कम्पनीको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

बैंकहरुले कर्जाको ब्याजदर पनि हरेक महिना परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकको नयाँ नियम

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षाको मुखैमा एकिकृत निर्देशिकामा संशोधन गरेको छ। नेपाल राष्ट्र बैंकले हरेक तीन महिनामा एक पटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा अब महिनैपिच्छे परिवर्तन गर्न पाइने बनाएको छ ।

अब कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन हुनेछ ।

तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपर्ने केन्द्रिय बैंकको नियम यथावत रहने छ ।

यसरी पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुनेरनहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था लागु भएको छ ।

परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्रप्राप्त संस्थाको कोर बैंकिङ्ग सिस्टम मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्नेछ ।

तेस्तै व्याजदर घटाउँदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी मिलाउनुपर्ने छ ।

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

0

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको थियो ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

नेप्से घटेर १८३३ को बिन्दुमा, लगानिकर्ता अझै अन्योलमै

आज नेप्से परिसूचक १६.९२ अंकले घटेको छ । आज नेप्से ०।९१ प्रतिसतले घटेर १८३३ को विन्दुमा कायम भएको हो ।

हिजो नेप्से परिसूचक १९ अंकले घटेको थियो । हिजो नेप्से १९ अङ्कले घटेर १८५० को विन्दुमा कायम भएको थियो ।

लगानिका लागि लगानिकर्ताको मनोबल अझै आउन सकेको छैन । देशको अर्थतन्त्रप्रती नकरात्मक धारणा रहेको कारण पनि लगानिकर्ता पर्ख र हेरको स्थितिमा छन ।
प्राबिधिक बिस्लेशण
नेप्सेले आज बोल्लिङर ब्यान्डको तल्लो रेखा नजिक क्लोजिङ दिएको छ , जसको अर्थ बजारले बोलिङ्गर ब्यान्डलाई सपोर्ट बनाएर माथि जान सक्ने वा अझै केही तल जान सक्ने देखिन्छ ।

एमएसिडि अझै सेल सिग्नल भ्यालिड रहेको छ । साथै हिस्टोग्राम लामोलामो हुँदै गैरहेको छ जसले बजारमा सजक रहनुपर्ने इङ्गित गर्छ ।

आरएसआइ ३६ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकै पुगेको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।
पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५३ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।

  ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनुस् :कांग्रेस सांसद

राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिएकी छन् । उनले यो पनि गर्ने र त्यो पनि गर्ने भन्ने तर, खास रुपमा केही नगर्ने प्रवृत्ति त्याग्न उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएकी हुन् ।

‘बिरालो बाँधेर सराद्धे गर्ने काम नगरौं । ठ्याक्कै के गर्ने हो भनौं’, उनले बैठकमा भनिन्, ‘किसानले उत्पादन गरेको उपजको बजारको ग्यारेन्टी गरौं । कसरी गर्ने ठ्याक्कै भनौं ।’भन्सारको चुहावट रोक्न के गर्ने हो त्यो स्पष्ट भन्ने, वैदेशिक लगानी बढाउने मात्रै नभनेर लगानीका लागि वातावरण बनाउन ठ्याक्कै के गर्ने हो त्यो भन्नुपर्ने उनको धारणा छ । ‘एकीकृत बसोबासका लागि सुरुवात नै गरौं । यसो हुँदा जंगली जनावरको डर र त्रास कम हुन्छ । शिक्षा र स्वास्थ्यका लागि पनि सहजता प्राप्त हुन्छ ’ उनले थपिन ।

पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ ?’

बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने सांसद पन्तले बताइन् । ‘बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौं अर्थमन्त्रीज्यू यदि हामीले समस्या बुझेका छौं र हिम्मत छ भने’ सांसद पन्तले भनिन्, ‘यति ग¥यो भने हामी यो पलायन हुँदै गएको अर्थतन्त्रबाट चलायमान बनाउन सक्छौं ।’

‘कहिले श्रीलंका भनेका छौं के भनेर गुनासो गरेका छौं , यसरी निरासाका कुरा नगरन उनले सुझाइन ।

नेप्से प्रि ओपन सेसन : झिनो अंक बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

आइतबार १९.१२ अंक घटेर १८५०.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६ स्टकको १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको ३४७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्राबिधिक रुपमा हेर्दा बजारमा लगानिकर्ता लगानिका लागि इच्छुक देखिएका छैनन । बोल्लिङर ब्यान्डको मध्य रेखाबाट बजार तल्लो रेखातर्फ लागेको छ , यसले बजार अझै केही समय तल्लो रेखासम्मा जाने देखिन्छ भने एमएसीडीले सेल सिग्नल दिएको छ , जुन अहिले पनि भ्यालिड देखिन्छ ।

हैदरावादको रोमाञ्चक जित, ४ विकेटले हार्‍यो राजस्थान

0

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावाद ४ विकेटले विजयी भएको छ । गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।

अन्तिम बलमा चार रन चाहिएको बेला अब्दुल समादले छक्का प्रहार गर्दै हैदरावादलाई रोमाञ्चक जित दिलाए । यो जितसँगै हैदरावाद आईपीएलको जारी सिजनबाट आउट हुनबाट जोगियो । उसले खेलेका १० म्याचमध्ये यो चौथो जित हो ।

हैदरावादको जितमा अनमोलप्रित सिंह ३३ रन बनाए भने अभिषेक शर्माले अर्धशतकीय पारी खेले । ३४ बल सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५५ रन बनाए । राहुल त्रिपाठीले ४७ रन योगदान गरे । अब्दुल समाद १७ रनमा नटआउट रहे ।

बलिङतर्फ युजवेन्द्र चहलले २९ रन खर्चेर ४ विकेट लिए ।

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीश सिफारिसबारे छलफल गरिने

0

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक आज साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो ।
सर्वोच्च अदालतमा १५ महिना यता प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।

चोलेन्द्रशम्शेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त अवस्थामा छ । हाल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की रहेका छन्
यसअघि यही वैशाख ६ गते संवैधानिक परिषद्को बैठक बसेको थियो । सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे पहिल्यै पनि सामान्य छलफल भए पनि निर्णय भएको थिएन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीश सिफारिस गर्न नहुने अडान लिएपछि बैठक निष्कर्षविहीन भएको थियो ।

सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेपछि बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश रहने व्यवस्था छ ।

बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाई प्रोफाइल’

शरणार्थीका नाममा ठगी मुद्दाको भित्री कथा
पैसा पचाएर काम टार्ने गरेपछि थप बिच्किएका थिए बिचौलिया

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगीमा संलग्न तीनजना गत १२ चैतमा पक्राउ परेलगत्तै उनीहरूसँग जोडिएका उच्चपदस्थहरू सतर्क भए । आफ्नो नाम पोलिने चिन्ता उनीहरूलाई थियो । त्यसैले छिटो अनुसन्धान टुंग्याएर बुझाउन भोलिपल्टैदेखि प्रहरीमाथि दबाब दिन थालियो ।

ठूला नेताबाटै दबाब आएपछि प्रहरीले तत्कालै बयानको प्रक्रिया अघि बढायो । एक पूर्वसांसदले पक्राउ परेका अभियुक्तलाई भेटेरै पैसा फिर्ता गराइदिने आश्वासन दिँदै नेताको नाम बयानमा नलिन आग्रहसमेत गरेका थिए । केही पैसा फिर्ता पनि गरिदिए ।

सुरुमा बिचौलियाहरू सानु भण्डारी, केशव दुलाल, टंक गुरुङ पक्राउ परेका थिए, तीन दिनपछि सागर राई पनि समातिए । दुलाल, गुरुङ र राईले सुरुमा इन्कारी बयान दिए भने भण्डारीले ‘कसैलाई नछाड्ने’ अडान लिए । बयानका क्रममा उनले आफूले पैसा बुझाएका सबै नेता र कर्मचारीका नाम लिए । तर, प्रहरीले उनको बयान लिपिबद्ध गरेन । बबरमहलस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान भएको थियो ।

बयानका क्रममा प्रश्नोत्तर गरी बोलिएका कुरा लिपिबद्ध गरी त्यसमा हस्ताक्षर गराइन्छ । जहाँ भण्डारीले आफूले भनेअनुसार बयान नलेख्ने हो भने ‘सरकारी वकिल कार्यालयमै आत्मदाह गर्ने’ धम्की दिए । त्यसपछि बयान कक्षमा सन्नाटा छायो । प्रहरी र सरकारी वकिलले केही दिनका लागि बयान नै रोके ।

भण्डारीले एमाले सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतकोे नाम लिएका थिए । ती नामले प्रहरी झस्किएको थियो । प्रहरीमाथि बयानमा उच्चपदस्थको नाम हटाउन निरन्तर दबाब थियो भने एकथरी प्रहरी यो मुद्दालाई संगठित अपराध कसुरमा लगेर विस्तृत अनुसन्धान गराउने पक्षमा थियो । तर, सरकारी वकिल कार्यालयले संगठित अपराधमा नलगी छिटो मुद्दा बुझाउने प्रक्रिया अघि बढायो ।

अनुसन्धानको प्रतिवेदन बनाउने तयारी हुँदै गर्दा २९ चैतमा गिरोहका सदस्यमध्येका एक सन्देश शर्मा आफैँ प्रहरीमा उपस्थित भए । उनको बयान लिएर तत्काल मुद्दा बुझाउन नसकिने भएपछि बल्ल सरकारी वकिल कार्यालय ठगीसँगै संगठित अपराधमा मुद्दा अघि बढाउन तयार भयो । ठगीमा मात्र मुद्दा चलाउँदा प्रहरीले २५ दिनभित्र अदालतमा अभियोग पुर्‍याइसक्नुपर्ने हुन्छ भने संगठित अपराधमा ६० दिनसम्मको समय पाउँछ ।

‘संगठित अपराध कसुरमा जोडिएपछि यो मुद्दाले नयाँ मोड लियो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले भने, ‘अभियुक्तहरूले हाई प्रोफाइल व्यक्तिको नाम मात्र लिएनन्, त्यसको प्रमाण पनि दिए, दबाब आए पनि प्रहरी पछि हट्नै नसक्ने अवस्था आयो ।’ 

बिचौलियामध्येका एक भण्डारीले बोलेअनुसार बयानमा नलेखे जे पनि गर्न सक्ने भन्दै धम्क्याएकाले प्रहरी र सरकारी वकिलमाथि दबाब बन्यो । त्यसपछि उनकै बयानका आधारमा प्रहरी प्रमाण संकलनतर्फ केन्द्रित भयो । बयानअनुसारको आर्थिक कारोबार प्रमाणित हुँदै गएपछि यो मुद्दामा एकपछि अर्का ‘हाई प्रोफाइल’ तानिन थाले ।

१९ वैशाखमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ ग¥यो । भोलिपल्ट सचिव टेकनारायण पाण्डे र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप समातिएपछि यो मुद्दाले तरंग ल्यायो । उनीहरूको पक्राउले यसमा संलग्न अन्य उच्चपदस्थ थप त्रसित बनेका छन् । 

स्रोतका अनुसार भण्डारी खुलेसँगै अन्य अभियुक्तले पनि बयानमा प्रहरीलाई सघाएका छन् । प्रहरीमाथि दबाब नपरेमा अरू धेरैजना तानिने सम्भावना छ । ‘अन्य केही उच्चपदस्थको पनि नाम आएको छ, तर प्रमाणले त्यसलाई सपोर्ट नगरेसम्म पक्राउ पुर्जीको प्रक्रिया अघि बढेको छैन,’ प्रहरी स्रोतको दाबी छ । 

जिल्ला प्रहरी परिसर काठमाडौैंका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धानका धेरै काम बाँकी रहेको र अनुसन्धानमा खुलेका सबै विषय बाहिर ल्याउन नमिल्ने बताए । ‘यो मुद्दामा अनुसन्धान गर्नुपर्ने विषय धेरै छन्, त्यसकारण प्रहरीले तीव्रताका साथ अनुसन्धान अघि बढाएको छ, थप व्यक्तिको संलग्नता त्यससँगै खुल्दै जाला,’ उनले भने । 

पैसा पचाउने, तर काम टार्ने प्रवृत्तिले बिच्किए बिचौलिया 
६ वर्षअघिदेखि नै बिचौलिया समूहले भुटानी शरणार्थीका नाममा ठगी सुरु गरेका थिए । सुरुमा उनीहरूले नाम दर्तामा छुटेका शरणार्थीलाई अमेरिका पठाइदिने भनेर पैसा उठाए । त्यसको सुरुवात केशव दुलालले गरेका थिए । कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनी स्वकीय सचिव भएकाले त्यतिवेलादेखि नै उनी यो विषयमा जानकार थिए भने केही शरणार्थी उनको सम्पर्कमा थिए । सम्पर्कमा भएकामार्फत पैसा उठाएर गृह मन्त्रालयलाई प्रभावमा पारी भुटानी शरणार्थी समस्या समाधानका लागि कार्यदल गठन भएको थियो । त्यतिवेलासम्म सानु भण्डारी, सन्देश शर्मालगायत व्यक्ति पनि जोडिइसकेका थिए । 

०७६ को जेठमा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा गृह मन्त्रालयले कार्यदल गठन गरेको थियो । त्यसको सदस्यमा सानु भण्डारीका साथी गणेशबहादुर केसी (हाल महांकाल गाउँपालिका अध्यक्ष) र गृहमा राम्रो छवि नभएका अधिकृत दीपक न्यौपानेलाई राखियो । यो कार्यदलको प्रतिवेदनका आधारमा बिचौलियाहरूले करिब नौ सयजनासँग करिब एक अर्ब उठाएका थिए । 

गृहमा पकड भएकाले उनीहरूले नेपालीलाई पनि भुटानी शरणार्थीको सूचीमा राखेर पठाइदिने भन्दै पैसा उठाएका थिए । त्यही पैसाका बलमा पछिल्लो पाँच वर्षसम्म गृह प्रशासनलाई बिचौलियाहरूले आफूअनुकूल चलाएका थिए । रामबहादुर थापा र बालकृष्ण खाण दुवै गृहमन्त्रीको कार्यकालमा सो गिरोहको स्वार्थअनुसार निर्णय भएका छन् । त्यसक्रममा गृहका सचिवहरू प्रेमकुमार राई, महेश्वर न्यौपाने र टेकनारायण पाण्डेले पनि आफूहरूलाई सघाएको उनीहरूको बयान छ । राई र न्यौपानेले लाभ लिएर सघाएको प्रमाण हालसम्म नभेटिएको प्रहरी अधिकारी बताउँछन् । 

सर्वसाधारणसँग उठाएको पैसा नेता र कर्मचारीलाई बुझाएर शरणार्थीका नाममा सयौँलाई अमेरिका उडाउने उनीहरूको योजना थियो । काम गरिदिने भनेर गृहका अधिकारीले पैसा बुझेपछि ढुक्क भएका थिए । तर, करोडौैँ बुझाउँदा पनि अल्झाएर मात्र राखेको र उल्टो आफूहरूलाई नै पक्राउ गरेपछि उनीहरू रिसाएर पैसा लिने सबैको नाम पोलेको प्रहरी स्रोत बताउँछ । 

‘उनीहरूले हामी ठग होइनौँ, उल्टै पीडित हौँ भनिरहेका छन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘नेताहरूलाई करोडौँ बुझाउँदा पनि आफूहरूलाई थुनाएको रिसमा सबैको नाम पोलेका हुन सक्छन् ।’ इन्द्रजित राईनिकट समूहले त यस विषयमा कुरा बाहिर ल्याए मारेर बेपत्ता पारिदिने धम्कीसमेत आफूहरूलाई दिएको उनीहरूको भनाइ छ । सोही धम्कीका कारण उच्चपदस्थको संलग्नताको अडियो रेकर्डलगायत सम्पूर्ण प्रमाणसमेत उनीहरूले प्रहरीमा बुझाएका छन् । त्यही प्रमाणले यतिवेला देश तरंगित भएको छ । 

त्यसो त पीडितको दबाबपछि गत वर्ष जेठमा नै अपराध अनुसन्धान कार्यालयले बिचौलिया भण्डारीलाई पक्राउ गरेको थियो । उनले गृह मन्त्रालयकै पोल खोलिदिने धम्की दिएपछि केही घन्टामै छुटेको स्रोत बताउँछ । त्यतिखेर छाड्न दबाब दिनेमा हाल थुनामा रहेका सचिव पाण्डेसमेत थिए । त्यतिवेला उनी गृह मन्त्रालयमै कार्यरत थिए भने अहिलेका आइजिपी वसन्तबहादुर कुँवर उनीहरूमाथि अनुसन्धान गर्ने अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । 

खाणविरुद्ध प्रमाण जुटाउँदै प्रहरी 
पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको समेत नाम बयानमा लिएका छन् । तर, प्रमाण नभेटिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया भने अघि बढेको छैन । बयानमा आएको विवरणअनुसार गिरोहलाई सघाएको प्रमाणको खोजीमा प्रहरी छ । 

बालकृष्ण पन्थी कार्यलदको प्रतिवेदन कार्यान्वयनका लागि भनेर आफूहरूले तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डेलाई पैसा बुझाएको सानु भण्डारीको दाबी छ । उनले पैसा बुझाएको मितिसमेत टिपेर राखेका छन् । एक करोड २४ लाख बुझाएको दाबी छ । त्यसको मितिसमेत उनले प्रहरीमा दिएका छन् । नगद पैसा दिएको बताएपछि त्यसको प्रमाण फेला पार्न प्रहरीलाई सकस परेको छ ।

खाण मन्त्री रहेका वेला ठगी गर्ने गिरोहलाई सहयोग पुग्ने गरी गृह मन्त्रालयबाट केही नीतिगत निर्णय पनि भएको स्रोत बताउँछ । पहिलो, १९ मंसिर ०७८ मोरङ र झापा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको सम्बन्धमा मन्त्रिपरिषद्का विभिन्न निर्णय कार्यान्वयन गर्न भनिएको छ । १३ मंसिर ०७८ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्वेच्छिक स्वदेश फिर्तादेखि तेस्रो देशमा पुनस्र्थापनासम्बन्धी निर्णय कार्यान्वयन गर्न भनिएको छ । पुनस्र्थापनसम्बन्धी सोही विषय देखाएर बिचौलिया समूहले प्रक्रिया अघि बढेको भन्दै विश्वासमा पारेका थिए । 

त्यस्तै, २७ जेठ ०७९ मा झापाका प्रमुख जिल्ला अधिकारीलाई लिखित दिएर बिचौलियालाई सहयोग गरिएको थियो । छुट शरणार्थीको विषयमा अध्ययन गर्न झापाका सहायक सिडिओको अध्यक्षतामा बनेको समितिको म्याद दुई महिना थपिएको थियो । गृहसचिवस्तरीय निर्णयका आधारमा सो समिति बनेको थियो । 

साथै गृहको निर्देशनको पहिलो नम्बरमा समितिले उपसमिति गठन गर्न सक्ने उल्लेख छ भने दोस्रो नम्बरमा भनिएको छ, ‘सो विषयमा (भुटानी शरणार्थी) पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठिन समितिले पेस गरेको प्रतिवेदनसमेत अध्ययन गरी छुट शरणार्थीहरूसमेतका सन्दर्भमा दीर्घकालीन रूपमा समस्या समाधान, तर व्यवस्थापनका लागि राय एवं सुझावसहित पेस गर्ने ।’ 

यो बुँदाबाट बिचौलिया समूहकै स्वार्थमा पत्राचार भएको पुष्टि हुन्छ । त्यति निर्णय गराउन पनि गृहको नेतृत्वलाई पैसा बुझाउनुपरेको बयान पक्राउ परेका भण्डारीले दिएका छन् । तर, अहिलेसम्मको प्रमाणले नीतिगत निर्णय मात्र देखिएको र लेनदेन पुष्टि नभएकाले खाणविरुद्ध प्रहरीले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाउने आँट गरेको छैन । नेता खाणले भने शनिबार विज्ञप्ति निकाल्दै आफूमाथि लागेको आरोप आधाररहित र तथ्यहीन भएको दाबी गरेका छन् । 

पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको हकमा भने छोराको खातामा पटक–पटक पैसा हालेको पुष्टि भएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । सहजीकरण गरिदिएको भनेर पत्रिकामै बोलेको कुरा र अभियुक्तसँग सँगै हिँडेको फोटोलाई पनि प्रहरीले उनीविरुद्धको प्रारम्भिक प्रमाण मानेको छ । गत बुधबार गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा आफू निर्दाेष रहेकाले प्रहरीलाई सघाउने बताएका रायमाझी अझै फरार छन् । 

उता पैसा उठाउने बिचौलिया र पीडितबीच भएको कुराकानीमा कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाणलाई पनि पैसा बुझाएको भन्ने अडियो सार्वजनिक भएको छ । सो अडियोमाथि समेत छानबिनको माग गरी पीडितहरूले प्रहरीमा निवेदन दिएका छन् । तर, त्यसलाई पुष्टि गर्ने आधार हालसम्म नभेटिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हालसम्म सो मुद्दामा आठजना थुनामा छन् । उनीहरूलाई थप सात दिन थुनामा राख्न आइतबार जिल्ला अदालतले म्याद दिएको जिल्ला परिसरका प्रवक्ता एसपी रिजालले बताए । – नया पत्रीका , नवराज मैनाली