Home Blog Page 159

एनआईसी एशिया बैंकको ५.१३ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य २०८

0

एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

यो सेयरको न्यूनतम मूल्य २०८ रुपैयाँ निर्धारण गरि लीलामीमा राखिएको छ ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको लाजिम्पाटस्थित एनआईएमबी एस क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने

0

पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओे निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत ७ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनका आयोजना हुनेछ ।

उक्त सभामा आईपीओ निष्कासन गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

पशुपनि रिन्यूएबल्स जलविद्युत तथा सौर्य उर्जा उत्पादक कम्पनी हो । कम्पनीले सन् २०३० सम्म ५०० मेगावाटको नविकरणीय उर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि छनौट समितिले दरखास्त आह्वान गर्‍यो

0

रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त माग गरिएको छ । आज छनौट समितिले दरखास्त आह्वान गरेको हो ।

आवेदन दिनेको शैक्षिक योग्यता कम्तीमा स्नाकोत्तर हुनुपर्ने र धितोपत्र बजार व्यवस्थापन,पूँजी बजार विकास,आर्थिक ,वित्तीय वाणिज्य,व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

यसका साथै उच्च नैतिकता भएको र ३० वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात आगामी फागुन ३० गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।

धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्ड तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि गत पुस २० गतेदेखि अध्यक्षविहिन रहेको छ । हमाल बाहिरिएसँगै धितोपत्र बोर्डका बरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्तको अधिकार दिईएको थियो ।

यसरी नै पक्राउ गर्ने हो भने ६ महिनाभित्र सबै बैंकर जेल पर्छन् ! : मनोज ज्ञवाली

0

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले कुनै बैंकले प्रवाह गरेको खराब कर्जामा परिणत भए र ऋण असुलीको क्रममा धितोले नखाम्दा मुद्दा चलाउँदै जाने हो भने कुनै पनि बैंकर जेल बाहिर नहुने बताएका छन् ।

तत्कालीन सेञ्चुरी बैंकका पूर्व सीईओ र सीईओसहित १० जना पक्राउ परेपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत सामान्य बैंकिङ अभ्यास नबुझी कुनै पेशाकर्मीलाई दु:ख दिनु गलत भएको उल्लेख गरेका छन् ।

‘कुनै बैंकले प्रवाह गरेको कर्जा खराब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिङ कसुर लगाउने अनि रिस्क म्यानेजमेन्ट (आरएम)देखि सीईओ/बोर्ड सम्मलाई हत्कडी लगाउने हो भने छ महिना मात्र कर्पोरेट/इन्फ्रामा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुँदैनन्’ ज्ञवालीले लेखेका छन्, ‘जसलाई मन लाग्छ, एक हप्ता फाइल खोजेर टप्प टिपेर जेल हाले हुन्छ ।’

कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेइमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराध मा हदैसम्मको कारबाही हुनुपर्ने भए पनि सामान्य बैकिङ अभ्याससम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दिनु गलत भएको उनको भनाइ छ ।

‘रिसिवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैंकिङ नबुझि गरेको काम हो भने म खेद प्रकट गर्छु । जहाँसम्म तुलसीराम गौतम जस्ता बैंकरले बदमासी गरेको चार्ज बैंकिङ सेक्टरलाई पत्याउन मुस्किल छ,’ उनले लेखेका छन्, ‘अरु बैंकरहरुका बारेमा म जानकार हुन सकिन । तर मनोज, दिपेश र राजेशले घुस खाए, बेइमानी गरे भनेर पत्याउन म सक्दिँन ।’
उनले यसअघि बैंक अफ काडमाडौंका सीईओलाई यसै दुःख दिइएको बताएका छन् ।

‘बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउँछन् नै तर यसका लागि पनि सेटिङ कति मिलाउनु पर्ने हो ? उनीहरुले भोगेको मानसिक तनावको क्षतिपूर्ति कसरी हुन्छ ? के बैंकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लैण्डिंग मात्र गर्ने हो? धेरै प्रश्न आइरहे’ उनले भनेका छन् ।

‘घर कर्जा, व्यक्तिगत कर्जा, रियलस्टेट कर्जा प्रवाह गर्दा घर जग्गा धितो मूल्यांकन गराई धितो को ५०% देखि ७०% सम्म दिन मिल्ने तर व्यवसायिक कर्जा/ कर्पोरेट कर्जा/ इन्फ्रास्ट्रक्चर कर्जा प्रवाह गर्दा स्टक रिसिभल र परियोजनको लागतको आधारमा प्रवाह गर्न मिल्दछ, यस्तो कर्जामा धितो भनेको उक्त परियोजना , स्टक र रिसिभल मात्रै पनि हुन सक्दछ । संसारभरको बैंकिङ प्राक्टिस यही हो’ उनले भनेका छन् ।

प्रिमियममा सेयर जारी गर्न दिएको बारे अनुसन्धान भईरहेको छ , चाँडै टुंगो लाग्छ: अख्तियार प्रमुख राई

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले धितोपत्र बोर्डले प्रिमियममा सेयर जारी गर्न दिएको विषयमा अख्तियारले अध्ययन गरिरहेको बताएका छन् । उनले मंगलबार लेखा समितिको बैठकमा अख्तियार प्रमुख राइले अर्थ मन्त्रालय मार्फत कागजात मागेर अनुसन्धान भइरहेको र चाडै टुंगोमा पुग्ने सांसदहरुलाई जानकारी दिए ।

उनले टेरामक्स खरिदका विषयमा पनि अनुसन्धान अन्तिम चरणमा रहेको बताए ।

राईले आयोगमा १८ वटा सुझाव रहेको र वाईडबडी विमानका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सूचना माग गरिएको उनको भनाइ छ । सरकारसँग उनले चाडोभन्दा चाडो सम्बन्धित देशसँग बाईल्याटरल एग्रिमेन्ट गराउन माग गरे । त्यो भएको खण्डमा मात्रै सूचना पाउन सकिने उनको भनाइ छ ।

राईले अहिले नेपालमा भन्दा पनि विदेशमा बसेर सेटिङ मिलाएर भ्रष्टाचार हुने गरेको बताए ।

सेक्युरिटी प्रिन्टिङका विषषयमा अनुसन्धान जारी रहेको भन्दै उनले चमेलिया आयोजना २०६७ सालमा समस्यामा परेपछि छानबिनका लागि पत्र गएकोमा अध्ययन जारी रहेको उनको भनाइ छ ।

प्रमुख राईले चिनीको मूल्य कार्यान्वयन नगरेको विषय पनि अनुसन्धान भइरहेको त्यस्तै सामुदायिक वनका विषयमा चारवटा निवेदन परेको र अहिले आधा काम सकिएको उनले बताए ।

सार्वजनिक जग्गा र प्रविधिको प्रयोगबाट हुने गरेको आर्थिक अनियमितताका बारेमा धेरै उजुरी आयोगमा परेको उनले बताए ।

अख्तियारले दिएको २२ बुँदे सुझावका कारण कर्मचारीले फाइल अघि बढाउन छोडेको गुनासो आयोगमा आउन थालेको भन्दै उनले आफूहरुले दिएको सुझाव कार्यान्वयन भए नेपालमा भ्रष्टाचार घट्ने दाबी गरे । उनले अगाडि भने ‘छिटो छिटो कर्मचारी सरुवा हुँदा खोजेको कागजात नपाउने, कर्मचारीमा अपनत्व नहुने गरेको समस्या रहेको छ । निजामति सेवा ऐन संशोधन गर्नुपरेर अघि बढ्दा सहज हुन्छ’ उनले भने ।

सेञ्चुरीका २ सीईओसहित ११ पक्राउः देउराली सहकारीका सन्चालकको कम्पनिलाई ८० करोड धितोमा २ अर्ब ऋण दिएको आरोप

तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका दुई जना सीईओ (तुलसीराम गौतम र मनोज न्यौपानेसहित ११ जनालाई मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधानलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

कमसल धितोका आधारमा बढी कर्जा प्रबाह गरेको आरोप उनिहरुलाई लागेको छ । ८० करोड रुपैयाँ बराबरको धितो राखेर २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको भेटिएपछी उनिहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । चौलागाईंका विभिन्न कम्पनीमा प्रवाह भएको कर्जा दुरुपयोग भएको पाइएको छ ।

श्रोतका अनुसार ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।

चौलागाईंले समयमा कर्जा र कर्जाको साँवा ब्याज नतिरेपछि प्रभु बैंकले ऋणी तथा जमानीको धितो गत असोजमा लिलामीमा निकालेको थियो । दुईपटक धितो लिलामीको सूचना निकाल्दा पनि उक्त धितो बिक्री भएको छैन ।

चौलागाईंले सेञ्चुरी लगायत माछापुच्छ्रे, एनआईसी एशिया, सिटिजन्स, मेगा, बैंकबाट ऋण लिएका थिए । माछापुच्छ्रे बैंकले गत वर्ष नै चौलागाईंको धितो गैरबैंकिङ सम्पत्तिका रुपमा सकार गरिसकेको छ भने सिटिजन्स बैंकले असूली गरिसकेको छ ।

चौलागाईंले आफू अध्यक्ष भएको सहकारीका बचतकर्ताको रकमले जग्गा किन्ने र उक्त जग्गा बैंकमा धितोमा राखेर ऋण लिँदै आएका थिए ।

सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा गत असोज १८ गते सीआईबीले चौलागाईं पक्राउ गरेको थियो ।

बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्ने, कहिले जग्गा दिने प्रलोभन देखाउन थालेपछि उक्त सहकारीको फाइल सहकारी विभागले सीआईबीमा थप अनुसन्धानका लागि पठाएको थियो ।

बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने भन्दै बचतकर्ताबाट रकम उठाएर फिर्ता गर्न नसकेपछी हाल सहकारी सङ्कटग्रस्त बनेको छ ।

संचालक चौलागाई तथा उनका आफन्तहरुले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिको नाममा लिएको कर्जाको समयमा नै साँवा ब्याज भुक्तानी नगरेपछि बैंकले ऋणी, जमानी तथा कम्पनीको नाममा भएको १८ स्थानको धितो लिलामीमा निकालेको हो ।

राजनीतिक दलको सदस्यता लिएको व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष बन्न नपाउने, कार्यविधि बन्यो

0

‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै यस्ता आधारहरु सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले धितोपत्र बोर्डको भावी अध्यक्ष छनौटका आधार, योग्यता र मापदण्ड तयार गरेर सार्वजनिक गरेको हो ।

कार्यविधि अनुसार सिफारिस समितिले १५ दिनको समय राखेर दरखास्त आह्वान गरिने छ ।

अध्यक्षका लागि दरखास्त दिनेहरुका लागि आवश्यक योग्यता निम्नअनुसार छ :

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको लब्धप्रतिष्ठित व्यक्ति ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम देहायको योग्यता भएकोः

(क) नेपालको नागरिक भएको,

(ख) उच्च नैतिक चरित्र भएको,

(ग) धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको,

र (घ) सोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको ।

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित)को दफा ३ (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको ।

धितोपत्र बोर्डको अध्यक्षको उम्मेद्वारले सिफारिस समितिमा पेश गर्नुपर्ने कागजात पनि तोकिएको छ । जुन यसप्रकार छः

शैक्षिक योग्यता, पेशागत अनुभव, सम्पर्क ठेगाना (इमेल, टेलिफोन/मोवाइल नम्बर, घर वा कार्यालयको ठेगाना) सहितको विस्तृत वैयक्तिक विवरणको प्रत्येक पानाको अन्तमा उम्मेदवारले दस्तखत गरी पेश गर्नुपर्नेछ ।

नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र पेशागत अनुभव पुस्ट्याइँ गर्ने कागजातको प्रतिलिपि आवेदक स्वयम्ले प्रमाणित गरी पेश गर्नु पर्नेछ ।

उम्मेदवारले पाँच हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजनातयार गरी चार प्रति पेश गर्नु पर्नेछ ।

यस पदको प्रतिस्पर्धामा भाग लिन सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्र संलग्न गर्नु पर्नेछ ।

दरखास्तसाथ निम्न लिखित व्यहोराको स्वयम् घोषणाको विवरण आवेदक स्वयम्ले प्रमाणित गरी संलग्न गर्नु पर्नेछः

(क) कुनै राजनीतिक दलको सदस्य नभएको,

(ख) नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहको वा बोर्डसँग निजी स्वार्थ नभएको,

(ग) आफ्नो नाममा व्यक्तिगत बेरुजू बाँकी नरहेको,

(घ) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको,टाट नपल्टेको वा बेइमानी वा जालसाजी आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको,

(च) प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भए नभएको, र भएको भए त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन बर्ष पूरा भएको,

(छ) विदेशी मुलुकको स्थायी बसोबासको अनुमति प्राप्त नगरको,

(ज) नियामक निकायबाट कार्यकारी प्रमुख हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको ।

उम्मेद्वारको मूल्यांकन गर्दा व्यवसायिक कार्ययोजनाका लागि ४०, शैक्षिक योग्यताका लागि १२, व्यवसायिक कार्ययोजना प्रस्तुतीकरणलाई १८ र अन्तर्वार्ताका लागि ३० अंकभार तोकिएको छ ।

स्नातकोत्तरले ९ अंक र विद्यावारिधिले थप ३ अंक प्राप्त गर्नेछन् ।

उम्मेदवार छनौटका आधार एवं प्रक्रियाः

सिफारिस समितिले सर्वप्रथम तोकिए बमोजिमको योग्यता र अनुभव भएका आवेदकहरूले दरखास्तसाथ पेश गरेको व्यावसायिक कार्ययोजनाको परीक्षण गर्नेछ । परीक्षणबाट प्राप्त अङ्कको आधारमा औसत अङ्क निर्धारण गरी व्यावसायिक कार्ययोजना बापतको प्राप्ताङ्क गणना गरिनेछ ।

तोकिए बमोजिमको योग्यता र पेशागत अनुभव भएका आवेदकहरूको शैक्षिक योग्यता बापतको प्राप्ताङ्क तथा पेश भएको व्यावसायिक कार्ययोजना बापतको उपदफा

(७.१) बमोजिमको प्राप्ताङ्कको योगफल निर्धारण गरी उच्चतम अङ्क प्राप्त गर्ने उम्मेदवारहरू मध्ये सम्भव भएसम्म पाँच जना उम्मेदवारहरूको संक्षिप्तसूची(short List) तयार गरी व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि छनौट गरिनेछ ।

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणका लागि छनौटमा परेका आवेदकहरूले तोकिएको मिति र समयमा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गर्नु पर्नेछ । प्रस्तुतीकरणका लागि तीस मिनेट समय प्रदान गरिने छ ।

उपदफा (७.२) बमोजिम व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि छनौट भई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवं अन्तर्वार्ताका लागि उपस्थित उम्मेदवारहरूको शैक्षिक योग्यता बापतको प्राप्ताङ्क, पेश भएको व्यावसायिक कार्ययोजना बापतको उपदफा (७.१) बमोजिमको प्राप्ताङ्क, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको औसत प्राप्ताङ्क तथा अन्तर्वार्ताको औसत प्राप्ताङ्कको योगफल निर्धारण गरी उच्चतम अङ्क प्राप्त गर्ने तीन जना उम्मेदवारहरूको नाम वर्णानुक्रमानुसार सिफारिस गरिनेछ ।

तीनजना भन्दा कम आवेदकको आवेदन परेको अवस्थामा पहिलो चरणमा परेका आवेदनहरूलाई यथावत् राखी थप आवेदनको लागि सात दिनको म्याद दिई पुनः दरखास्त आह्वान गरिनेछ ।

पुनः दरखास्त आह्वान गर्दा थप आवेदन परेवा नपरेपनि छनौट सम्बन्धी प्रक्रियालाई अगाडि बढाउन सकिनेछ ।

बीओ टु बीओ अनलाइन बनाईने, उधारोमा सेयर किन्नेलाई अप्ठ्यारो !

0

सीडीएससीले बीओ टु बीओ अर्थात एक डीपी खाताबाट अर्को डीपी खातामा सेयर हस्तान्तरण विधि अनलाइन बनाउने तयारी सुरु भएको छ । सेयर कारोबारलाई सहज र छिटोछरितो बनाउने उदेस्यले यसो गर्न लागिएको हो ।

अहिले २ वटा डीम्याट खाता एकजनाले राक्न पाउने ब्यबस्था रहेको छ । लगानिकर्ताको चाहना अनुसार आफ्ना सेयर एउटै डीम्याटमा पनि लानसक्छन् । यसरी सेयर सार्न पुरानो डीपी वा ब्रोकरमा गएर त्यहाँको पत्र लिएर सीडीएसी जानुपर्ने प्रावधान रहेको छ । तर अब यदि अनलाईन भएको खण्डमा उधारोमा सेयर कारोबार गर्नेले पुरानो ब्रोकरमा पैसा नतिरी नयाँ ब्रोकरमार्फत सेयर बिक्री गर्न सक्ने हुनाले ब्रोकरले उधारो कारोबार नगर्न सक्छन । यस्तो भएमा उधारो कारोबार गर्नेहरु अप्ठ्यारोमा पर्ने देखिन्छ ।

हाल ब्रोकरहरुले आफ्नै ब्रोकरमा डीपी हुनेहरुलाई पैसा अपुग हुँदा पनि सेयर बेचेर हिसाब मिलान गर्ने शर्तमा सेयर हस्तान्तरण गरिदिने गरेका छन ।

एक लगानिकर्ता भन्छन – ” नेपालको अहिलेको सेयर बजारमा सेयर कारोबारहरु ८० प्रतिशत हाराहारी उधारो चलेको बताईन्छ । त्यसैले यदी बीओ टु बीओ अनलाइन भएमा सेयर कारोबारमा उधारोमा चल्दैन , यदी त्यसो भएमा सेयर बजारमा अर्बको कारोबार अब करोडमा मात्रै सीमित हुनसक्छ । यसले सेयर कारोबारलाई ठूलै असर गर्न सक्छ । “

प्रभु बैंकको ९.५३ लाख कित्ता सेयर बिक्रीमा

0

प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेकोृ ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्रमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

बैंकले तोकेको मितिसम्म प्रस्तावित सेयर खरिदका लागि कुनै आवेदन नआएमा विद्यमान संस्थापक बाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

‘निक्षेप पूर्ण सुरक्षित छ, बैंकहरुसँग ढुक्कले कारोबार गर्नू’ – राष्ट्रबैंक

0

बैंक डुब्ने स्थितीमा रहेको बजारमा हल्ला चल्न थालेपछी बचतकर्ताले आफ्नो निक्षेप निकाल्न थालेपछी बैंक तथा वित्तीय संस्था सवल र सक्षम रहेको भन्दै नेपाल राष्ट्रबैंकले बैंकहरुमा सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको दाबीसहित ढुक्कसँग कारोबार गर्न आग्रह गरेको छ ।

केही ब्यक्ती / समूहले दिएको भ्रामक अभिब्यक्ती र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय बैंकले विज्ञप्ति जारी गरेर बैंक तथा बित्तिय सङ्स्थाको राष्ट्र बैंकले नियमित निगरानी गरिरहेको जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ । बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ–‘बैंकिङजस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको उल्लेख गरिएको छ । पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशनअनुरूप नै रहेको र कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ , विज्ञप्तिमा भनिएको छ ।