Home Blog Page 156

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९५४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले कैलालाी लम्किचुहामा रहेको केन्द्रीय कार्यालय वा काठमाण्डौ बुढानिलकण्ठमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित निवेदन पेश गर्नुपर्नेछ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।

नेशनल लघुवित्तको एजीएम आज, लाभांशको अजेण्डा पारित हुने

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्ट बिहान १०.३० बजे सभा आयोजना हुन लागेको हो ।
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

सभामा संस्थाको रजिष्टर्ड(केन्द्रिय कार्यालय)काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा न ८ मा स्थानान्तरण गर्ने,संस्थापक र सर्वसाधारण समूहको सेयर पूँजीको अनुपात क्रमशः७० र ३० प्रतिशत कायम गर्ने र बोनस सेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारण समूहको सेयरपूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२९ कित्ता थप सार्वजनिक निष्कासन(एफपीओ)मार्फत सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालको गरी कुल ६ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २९ गतेसम्म कायम सेयरधनीहरु मात्रै संस्थाको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यो बढाइसङ्गै आज घरेलु बजारमा सुनको मूल्यले नयाँ उचाई कायम गरेको हो । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । यो सङ्गै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । गत चैत ८ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको थियो ।

त्यसदिन सुनको मूल्य २६ सयले बढ्दै प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय र तेजावी सुनको मूल्य १ लाख २७ हजार २ सय कायम भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ ।

१.१६ करोड कित्ता सिंगटी हाइड्रोको सेयरको लक इन अवधि चैत २६ गते समाप्त हुँदै

आगामी चैत २६ गते सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लक इन समयावधि समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो ।

कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर,१४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी सेयर र ५८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लक इन अवधि आगामी चैत २६ गते सकिन लागेको हो ।

कम्पनीले १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र कर्मचारीका लागि छुट्टाइएको ५८ हजार कित्ता सेयर २०७७ चैत २७ गते बाडफाड गरेको थियो ।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।

कम्पनीको लक इन समयावधि समाप्त भएसँगै यी सबै सेयर सर्वसाधारण सेयरमा परिणत हुनेछन् । र सेयरधनीले आफ्नो भागमा परेको सेयर खरिद बिक्री गर्न पाउने छन् ।

बाराही हाईड्रोपावरले हकप्रद निष्कासनका लागि अनुमति पायो

0

बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि अनुमती पाएको छ । कम्पनिले विद्युत नियमन आयोगबाट अनुमति पाएको हो । आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको छ ।

विद्युत नियमन आयोगको फागुन २२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको हो। कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत माघ १६ गते आयोगमा आवेदन दिएको थियो ।

कम्पनीले गत पुस २९ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाबाट हाल कायम गरेको चुक्तापूँजी २५ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

अर्थमन्त्री भन्छन- राजस्व वृद्धिदरलाई २० प्रतिशत बनाउन सकिन्छ

0

नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले १० प्रतिशत रहेको राजस्व वृद्धिदरलाई २० प्रतिशत बनाउन सकिने बताएका छन् । बुधबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले ‘आफू १२ वर्षपछि अर्थमन्त्रालयमा फर्किएको कथा समेत सुनाएर भने १२ वर्षपछि खोला फर्किन्छ भन्थे म यहाँ १२ वर्षपछि अर्थ मन्त्री भएको छु।’

२०६८ सालमा पुन अर्थमन्त्री भएको थिए । उनले आफु पहिलो चोटि २०६८ सालमा अर्थमन्त्रीहुँदा पनि घरजग्गा र सहकारीको समस्या रहेको र उक्त समस्या आफ्नो टिम समाधान गरेको बताए।

उनले नेपालको अर्थतन्त्रमा रहेको हालको समस्या सामान्य रहेको बताए। उनले भने,’ त्यसबखत बिलासिलाग्ने स्मार्ट फोन अहिले अत्यावश्यक भएको छ। अहिले अवस्था परिवर्तन भएको छ। नयाँ र फरक काम गर्नु पर्ने चुनौती छ।’

कुमारी बैंकको ५.२५ लाख कित्ता सेयर बिक्रीमा

0

कुमारी बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन खुलाएको जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

नवनियुक्त अर्थमन्त्री बर्षमानले भने– सेयर बजारको सुधार मेरो प्राथमिकता

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई सुधार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताएका छन । उनले अगाडि भने सेयर बजार व्यवस्थित बनाउने र स्थिरता दिने विषयलाई आफ्नो उच्च प्राथमिकतामा राखेको बताएका छन ।

सपथ ग्रहणपछि उनले सुस्त बनेको घरजग्गा क्षेत्रलाई चलायमान बनाउने गरी नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता सार्वजनिक गरे ।

उनले भनेका छन ‘सेयर बजारमा ६० लाख बढी लगानीकर्ताको विषय जोडिएको छ । यसलाई मैले हेर्नु नै पर्नेछ ।’ उनले भने-‘घरजग्गा क्षेत्र सुस्त छ । यसलाई चलायमान गरेर अगाडि बढ्नुपर्नेछ ।’

उनले अर्थतन्त्रमा ठूला समस्याहरु नरहेका, बरु मनोबल उठाउनुपर्ने आवश्यकता बढी रहेको भन्दै आफू त्यसमै केन्द्रीत हुने पनि घोषणा गरे ।

नवनियुक्त अर्थमन्त्री पुनले सरकारको पूँजीगत खर्च बढाउनुपर्ने, राजश्व संकलन बढाउनुपर्ने, अन्तर मन्त्रालय समन्वयलाई व्यवस्थित गर्नुपर्ने लगायत अर्थतन्त्रका कैयन चुनौतिहरु रहेका भन्दै ती सबै समाधान गर्न आफू सक्षम हुने दाबी गरेका छन ।

उनले घट्दो राजश्व संकलनमा तत्कालै सुधार गरिने र अर्को महिनापछि नै सुधारको अनुभूत हुने बताएका छन् । राजश्व चुहावट कहाँ कहाँ हुन्छ आफुलाई थाहा भएको भन्दै त्यसलाई सुधार गर्न आफुले सक्ने दाबी गरे ।

उनले निजी क्षेत्रको समेत साथ लिएर अगाडि बढ्ने वचन समेत दिए ।

उनले अर्थतन्त्रको वर्तमान समस्याहरुको विषयमा आफूलाई राम्रोसँग जानकारी रहेको भन्दै त्यसलाई सुधार गर्ने उपाय आफुसँग रहेको बताएका छन ।

लघुवित्त र सहकारीमा देखिएको समस्या पनि ठूलो नभएको र यसको निकै चाँडो समाधान हुने उनले दाबी गरेका छन ।

सिटिजन्स बैंकको ४० हजार कित्ता बढी सेयर लीलाम बिक्रीमा, न्यूनतम मूल्य १०५

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुकलगानीकर्ताले काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ ।

वार्षिक १ लाख सवारी साधन उत्पादन गर्ने गरी होन्डाको एसेम्बल प्लान्ट उद्घाटन हुँदै

होन्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनी प्रालिले स्वदेशमै सवारी साधन एसेम्बल गर्ने गरी उद्योग सञ्चालनमा ल्याउन लागेको छ ।

यस कम्पनीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा–४ मा रहेको एसेम्बल प्लान्टको औपचारिकरुपमा बुधबार उद्घाटन गर्न लागेको छ । त्यसपछी यो उध्योग सन्चालनमा आउनेछ ।

यस कम्पनिले एसेम्बल प्लान्टमार्फत् मोटरसाइकल तथा स्कुटर उत्पादन गर्नेछ ।

यस कम्पनीले हिमाल मोटो नेपाल प्रालि उद्योगमार्फत् मोटरसाइकल र स्कुटर उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार वटा स्कुटर गरी एक लाख सवारी साधन उत्पादन गर्ने उल्लेख गरेको छ । उक्त उद्योगबाट २०२ जनाले रोजगारी पाउने कम्पनीले जनाएको छ ।

उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुने भनिएको छ ।

पछिल्लो समय विभिन्न कम्पनीहरुले स्वदेशमै मोटरसाइकल र स्कुटर उत्पादन गर्ने गरी एसेम्बल प्लान्ट उद्योग निर्माण गर्न लगानी गरिरहेका छन् । नेपालमा प्रख्यात ब्रान्ड बजाज, टीभीएस, यामाहा र रोयल इन्फिल्डले स्वदेशमै एसेम्बल प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।