Home Blog Page 58

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २०५ रुपैयाँ

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन दिनुपर्नेछ । आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाउनुका साथै नेपाल बीमा प्राधिकरणबाट तोकिएको ‘फिट एण्ड प्रोपर टेष्टबमोजिमका कागजात अनिवार्य पेश गर्नु पर्नेछ ।

लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिनसक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ कायम रहेको छ ।

प्रभु महालक्ष्मी लाइफको २.७४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीका लागि यो सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, ७.७१ लाख आवेदकको हात खाली

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरिएको हो।

धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान ८:३० बजे आईपीओ बाँडफाँड सम्पन्न भएको हो। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिमार्फत बाँडफाँड गरिएको छ।

निष्कासित शेयर र वितरण

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो। कुल २२ लाख ५० हजार कित्तामध्ये:

  • २ लाख २५ हजार कित्ता (१०%) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,
  • ६७ हजार ५०० कित्ता (३%) कम्पनीका कर्मचारीका लागि,
  • १ लाख १२ हजार ५०० कित्ता (५%) सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

आवेदन संख्या र बाँडफाँड

एनआईएमबी एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ आवेदकबाट २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयरका लागि आवेदन परेको थियो।

यसमध्ये १९ लाख ५५ हजार ६८५ आवेदकको आवेदन सदर भएको छ भने १० हजार १२६ आवेदन विभिन्न कारणले बदर भएको छ।

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी १७ लाख ७१ हजार १८५ आवेदकको हात भने खाली भएको छ।

निष्कर्ष

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा ठूलो संख्यामा आवेदन परेकोले धेरै आवेदक निराश हुनुपरेको छ। कम्पनीको शेयर बजार प्रवेशपछि यसको मूल्य कस्तो रहनेछ भन्ने कुराले अब लगानीकर्ताको ध्यान तान्नेछ।

एलजी इलेक्ट्रोनिक्सले भारु.१५ हजार करोडको आईपीओ भारतमा ल्याउने, सेबीबाट स्वीकृति प्राप्त

दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले भारतीय सेयर बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति पाएको छ। भारतीय पूँजीबजार नियामक **सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी)**ले एलजीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो।

यस आईपीओको कुल आकार १५ हजार करोड भारु रहनेछ। यो आईपीओ अफर फर सेल (OFS) को रुपमा ल्याइन लागेको हो, जसअन्तर्गत भारु १० अंकित मूल्यका १०.१८ करोड इक्विटी सेयर बिक्री गरिनेछ। भारतीय मिडियाका अनुसार, यस आईपीओबाट कम्पनीले कुनै पनि प्रत्यक्ष आम्दानी गर्ने छैन।

एलजी इलेक्ट्रोनिक्सले आईपीओ निष्कासनको स्वीकृतिका लागि गत डिसेम्बर १९ मा सेबीमा ‘ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस (DRHP)’ पेश गरेको थियो।

भारतको इतिहासमा पाँचौं ठूलो आईपीओ

कम्पनीको यो आईपीओ भारतको पूँजीबजार इतिहासकै पाँचौं ठूलो हुने अनुमान गरिएको छ। हालसम्म भारतमा जारी गरिएको सबैभन्दा ठूलो आईपीओ भने हुन्डाई मोटरको रहेको छ, जसले २७,८६९ करोड भारुबराबरको आईपीओ जारी गरेको थियो।

आईपीओपछि बजार पूँजीकरण

एलजी इलेक्ट्रोनिक्सको सेयर सूचीकृत भएपछि कम्पनीको बजार पूँजीकरण १३ बिलियन डलर पुग्ने अनुमान गरिएको छ। कम्पनीले यो आईपीओ बजार रणनीतिको एक हिस्साका रूपमा लिएको बताइएको छ।

२०३० सम्मको लक्ष्य

एलजी इलेक्ट्रोनिक्सले सन् २०३० सम्म ७,५०० करोड डलर बराबरको आम्दानी गर्ने लक्ष्य राखेको छ। यसलाई कम्पनीले उपभोक्ता विद्युतीय व्यापारलाई पुनः लयमा फर्काउने रणनीतिको रूपमा लिएको छ।

भारतमा एलजी इलेक्ट्रोनिक्सको आईपीओप्रति लगानीकर्ताहरूको ठूलो चासो रहने अपेक्षा गरिएको छ।

मेडिकेयर हस्पिटलले आईपीओ निष्कासन गर्ने

मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ जारी  गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।

चैत १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २३ गते काठमाण्डौको धुम्बाराहीमा रहेको रामदा होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन भएपश्चात सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आईपीओ जारी गरेपश्चात प्राप्त हुने पूँजीको उपयोग र अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

सभामा नियमनकारी निकायबाट कुनै विषयमा परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित हुनेछ ।

मातृभूमि लघुवित्तले लाभांश नदिने, सेयरधनिको हात खाली

मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको शनिबार भएको बैठकमा यो निर्णय लिइएको हो। यसले कम्पनीका सेयरधनीलाई यस पटक कुनै पनि लाभांश प्राप्त नहुने बनाएको छ। यो सँगै यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।

फरवार्ड माइक्रोफाइनान्सको साढे ३ लाख कित्ता सेयर बिक्रीमा ,न्यूनतम मूल्य ५३१

काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ। लघुवित्तले ३ लाख ६३ कित्ता सेयर आज चैत ३ गतेबाट बिक्रीमा राखेको हो।

यो सेयरमा संस्थाका संस्थापक सेयरधनीका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद निवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ तोकिएकोले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र सुनसरीको दुहबीस्थित संस्थाको केन्द्रीय कार्यालय वा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १७ गतेसम्म रहेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओ सर्टलिस्ट सार्वजनिक

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम सर्टलिस्ट गरिएको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेप्सेको सीईओ पदका लागि आवेदन दिएका १० जना उम्मेदवारमध्ये पाँच जनाको नाम सर्टलिस्ट गरेको हो।

सिफारिस समितिले सार्वजनिक गरेको सर्टलिस्टमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल समावेश भएका छन्। समितिका अनुसार उनीहरूलाई शैक्षिक योग्यता तथा व्यावसायिक कार्य योजनाको मूल्याङ्कनका आधारमा उत्कृष्ट अंक प्राप्त गरेकाले अन्तिम सूचीमा राखिएको हो।

सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई चैत ६ गते बुधबार अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ। समितिका अनुसार अन्तर्वार्ता बिहान ७ बजेदेखि सुरू हुनेछ।

यसअघि नेप्सेको सीईओ चयन प्रक्रिया लामो समयदेखि अलमलमा परेको थियो। अब भने अन्तर्वार्तापछि छानिएका उम्मेदवारमध्येबाट योग्य व्यक्ति नियुक्त गरिनेछ।

बजारमा पैसा फालाफाल भएपछी आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारमा पैसा फालाफाल भएपछी नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । जसको साँवा तथा ब्याज भुक्तानी चैत २४ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९८ हजार २८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

उक्त मितिभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।