Home Blog Page 53

बजारबाट आज २५ अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आइतबार २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख ७ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा बजारबाट पैसा झिक्दै आएको छ ।

नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।


सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले चैत २९ गतेभित्र बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यालयमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो उल्लेख गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

यसरी आवेदन पेश गर्दा सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले आव २०८०÷८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ५ .७५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।


समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता १ हजार ३४७ .४५ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यमा आधारमा बैंकको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि बैंकको सेयरमूल्य प्रतिकित्ता १ हजार ४२४ .९३ रुपैयाँ कायम थियो ।

बैंकले आफ्ना सेयरधनीहरुलाई गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५ .७५ प्रतिशत बोनस सेयर र ० .३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६ .०५२७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न बैंकलेले चैत २७ गते बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि १२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

नयाँ स्टक एक्सचेन्जको बाटो खुल्यो, सर्वोच्च अदालतद्वारा लाइसेन्स रोक्न दायर रिट खारेज

सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न दायर गरिएको रिट खारेज गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले बुधवार उक्त रिट खारेज गर्ने निर्णय गरेको हो।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न अधिवक्ता कृष्णबहादुर थापालगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अब उक्त रिट खारेज भएसँगै निजी क्षेत्रलाई लाइसेन्स दिने बाटो सहज भएको छ।

यसअघि सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णय गर्दै अध्ययन कार्यदलको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज सञ्चालनका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो।

अधिवक्ता थापाले धितोपत्र बोर्डद्वारा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने क्रममा नीतिगत त्रुटि गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। तर, संवैधानिक इजलासले उक्त रिट खारेज गर्दै निजी क्षेत्रलाई स्टक एक्सचेञ्ज सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया अघि बढाउन बाटो खुला गरिदिएको छ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको दौडमा तीन वटा समूह प्रतिस्पर्धामा छन् – हिमालयन स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज, र नेशनल स्टक एक्सचेञ्ज। सर्वोच्चको यो निर्णयसँगै प्रतिस्पर्धी समूहहरूलाई अनुमति प्रक्रिया अगाडि बढाउन सहज हुने अपेक्षा गरिएको छ।

सेन्ट्रल फाइनान्सले लाभांश नदिने, सेयरधनीको हात खाली

सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ। चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणपछि प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष उक्त वित्तीय विवरण स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि सो वित्तीय विवरण संस्थाको आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गरिनेछ।

सेयरधनीहरुको खातामा सपोर्ट लघुवित्तको १३.७७५% बोनस सेयर जम्मा

0

सपोर्ट लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गराएको छ। संस्थाको गत पुस ६ गते सम्पन्न १०औं वार्षिक साधारणसभाबाट पारित १३.७७५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएको हो।

सेयर रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङका अनुसार उक्त बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै, गत मंसिर १४ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरूको हकमा भने क्रमशः जम्मा गरिनेछ।

युनाइटेड अजोड इन्स्योरेन्सको २ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख ५६ हजार ३१० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक सेयरधनी सन्दिप खेतान, जुलि चाचान, महेन्द्र कुमार गोयल र ज्योति कुमार सरावगीको स्वामित्वमा रहेका यी सेयरहरू बिक्रीका लागि खुला गरिएको हो।

सन्दिप खेतानको ९९ हजार ४११ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ, जुलि चाचानको ४९ हजार ७०५ कित्ताको मूल्य १८० रुपैयाँ, महेन्द्र कुमार गोयलको ८२ हजार ५९२ कित्ताको मूल्य १६३.९० रुपैयाँ तथा ज्योति कुमार सरावगीको २४ हजार ६०२ कित्ताको मूल्य १६३.५० रुपैयाँ निर्धारण गरिएको छ।

यस सेयर खरिदका लागि कम्पनीका जोसुकै व्यक्ति वा कम्पनीले आवेदन दिन सक्नेछन्। यसअघि माघ ३० गते ३५ दिने सूचना जारी गरी यी सेयरहरू कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको थियो। तर निर्धारित समयभित्र कुनै आवेदन नपरेकाले अब सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिन काठमाण्डूको सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा जानुपर्नेछ। आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा खुलाउनु पर्नेछ।

नेको इन्स्योरेन्सको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ८ गतेदेखि हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गरेको थियो।

कम्पनीले न्यूनतम पूँजी कायम गर्न तथा व्यवसाय वृद्धिमा टेवा पुर्याउने उद्देश्यले हकप्रद सेयर जारी गरेको जनाएको छ। हकप्रद सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आवेदन कहाँ दिने? लगानीकर्ताले नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय, सानिमा क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको मेरो सेयर प्लेटफर्मबाट अनलाइन आवेदन दिन सकिनेछ।

बुक क्लोज मिति हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो। त्यसैले, माघ १७ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरूले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

आज आवेदन दिने अन्तिम दिन भएकाले इच्छुक लगानीकर्ताहरूले समयमा नै आवेदन दिनुपर्नेछ ।

सरकारले कुलमानलाई दियो ३ पाने बर्खास्त पत्र, बर्खास्त गर्नुपर्ने १० कारणमा के के उल्लेख छ ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारद्वारा पदमुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। मंगलबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय सार्वजनिक गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई बर्खास्त गरिएको औपचारिक पत्र प्रदान गरेको छ।

घिसिङलाई २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरण प्रमुखमा नियुक्त गरिएको थियो, जुन २०८२ साउन २५ गतेसम्म रहने कार्यकाल तोकिएको थियो। तर, मन्त्रिपरिषद्ले चैत ११ गतेको बैठकमा उनलाई समयअघि नै हटाउने निर्णय गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

ऊर्जा मन्त्रालयले घिसिङलाई तीन पृष्ठ लामो पत्र पठाउँदै १० बुँदे कारणसहित बर्खास्त गरिएको उल्लेख गरेको छ। प्रमुख आरोपहरूमध्ये सरकारी नीति र संघीय संसदविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु, कर्मचारीबीच गुटबन्दी सिर्जना गर्नु, सञ्चालक समितिको निर्णय कार्यान्वयन नगर्नु, मन्त्रालयको स्पष्टीकरण पत्र सार्वजनिक गर्नु, बिना अनुमति विदेश भ्रमण गर्नु, विद्युत् महसुल असुल नगर्नु, अधिकार क्षेत्रभन्दा बाहिर गई भारतसँग सम्झौता गर्नु, तथा वार्तामा जानुअघि सञ्चालक समितिबाट स्वीकृति नलिनु रहेका छन्।

सरकारले यी आरोपहरूबारे घिसिङसँग ६ पटकसम्म स्पष्टीकरण मागेको थियो, तर उनको जवाफ सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्ले उनलाई पदमुक्त गर्ने निर्णय लिएको हो।

यसबीच, घिसिङले मन्त्रिपरिषद्को निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरिरहेका छन्।

यस्तो छ कुलमानलाई सरकारले दिएको बर्खास्तीको पत्रमा उल्लेख गरिएका १० बँदा

तपाईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका हैसियतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरुपका कार्यहरु नगरेको सन्दर्भ उल्लेख गरी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/११/२१ को निर्णयबमोजिम सफाइ पेश गर्ने मौका दिइएकोमा तपाईले पेश गरेको सफाइ सन्तोषजनक नदेखिएको र आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको हुँदा देहायमा उल्लिखित आधार र कारणबाट तपाईलाई नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवाको शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१२/११ को बैठकबाट निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।

देहाय
(क) मन्त्रालय र तपाईबीच भएको कार्यसम्पादन सम्झौताको दफा ९.५ मा कार्यसम्पादन मूल्याङ्कन भई सक्नु पर्ने समयसीमा उल्लेख छ । तपाईले आ. व. २०७८ । ७९ र आ. व. २०७९ । ८० को कार्यसम्पादन प्रतिवेदन तोकिएको समयसीमा भित्र बुझाएको हुँदा मन्त्रालयबाट मूल्याङ्कन भई सकेको अवस्था छ । यद्यपि आ. व. २०८० /८१ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन मिति २०८१ भदौ सम्ममा मन्त्रालयमा पेश भई मूल्याङ्कन भई सक्नु पर्नेमा सो समयसीमा भित्र तपाईले कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन पेश नगरेको कारण तपाईको कार्यसम्पादन मूल्याङ्कन ग्राह्य नहुनुको साथै कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयसीमा भित्र पेश नगरेको कारणले कार्यसम्पादन सम्झौताको दफा ९.५ को उल्लंघन गर्नु भएको हुँदा सोही कार्यसम्पादन सम्झौताको दफा १०.३ को अवस्था उत्पन्न भएको ।

(ख) सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा भएको Indo- Nepal Power Exchange Committee (PEC) को क्रमशः १५ औं र १६ औं बैठकमा भारतीय पक्षसँग नेपालको तर्फबाट वार्ता टोली प्रमुखको हैसियतमा कार्य गर्दा नेपाल सरकारको पूर्व सहमति र सञ्चालक समितिको स्वीकृति विना सहमतिपत्रमा हस्ताक्षर गरी आफूलाई अधिकार नै नभएको विषयमा सम्झौता गर्नुभएको ।

(ग) नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७७ । ४ । ५ मा भारत र बङ्गलादेश तर्फ वा ती देशहरुबाट बोलपत्र वा डे-अहेड, टर्म- अहेड लगायत अल्पकालीन/ मध्यकालीन/ दीर्घकालीन रुपमा बिक्री वा खरिद गर्न विद्युत खरिद बिक्री सम्बन्धी सम्पूर्ण चरणहरुको समेत विद्युतीय अभिलेख राख्ने प्रबन्ध मिलाउने गरी नेपाल विद्युत प्राधिकरणलाई पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको हो । नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको सम्पूर्ण काम कारवाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि सञ्चालक समिति रहने व्यवस्था छ । तसर्थ, तपाईंले विद्युत खरिदको लागि भारतमा वार्तामा जानु अघि सञ्चालक समितिबाट समेत निर्णय नगरी जानु भएको ।

(घ) तपाईले १२ फेब्रुअरी, २०२५ मा माननीय मन्त्री श्री दिपक खड्का र सचिव श्री सुरेश आचार्य भारत भ्रमणमा रहुनु भएकै अवस्थामा पनि नयाँ दर तथा विद्युत खरिद सम्बन्धी समझदारी गर्न अनुमति (Mandate ) समेत लिइएको भनी आफ्नो सफाइमा उल्लेख गर्नु भएकोछ, जुन सत्य होईन । सो समयमा माननीय मन्त्री भारत सरकारद्वारा आयोजना गरिएको उर्जा सप्ताह कार्यक्रम र सचिव (ऊर्जा) ऊर्जा सचिवस्तरीय Joint Steering Committee को बैठकमा सहभागी हुनु भएको थियो । तपाई सहभागी हुनु भएको उल्लिखित विषयमा माननीय मन्त्री र सचिवको तपाईंसँग कुनै पनि सम्वाद र छलफल भएको थिएन। साथै, उल्लिखित विषयमा तपाईलाई कुनै किसिमको अनुमति (Mandate) दिइएको थिएन ।

(ङ) नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/७/२५ को निर्णय बमोजिम डेडिकेटड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको वक्यौता रकम (Time of Day मिटर समेतको आधारमा) महसुल निर्धारण तथा असूली सम्बन्धी तत्काल प्रचलित कानूनबमोजिम गणना गरी १५ दिनभित्र असूल उपर मन्त्रालयले गर्ने/गराउने भनी यस मन्त्रालयलाई निर्देशन भएको थियो । उक्त निर्देशनलाई कार्यान्वयन गर्नका लागि नेपाल विद्युत प्राधिकरणलाई लेखि पठाउँदा तपाईंले सो को कार्यान्वयन नगर्नुभएको ।

(च) बिदा वा आन्तरिक तथा अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सम्वन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम १८ र ३२ मा भएको व्यवस्था विपरित सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालक समितिको स्वीकृति नलिई जाने गर्नुभएको ।

(छ) नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नेपाल विद्युत प्राधिकरणको मुख्य प्रशासकीय अधिकृत पनि हो । नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८१।११।२१ को निर्णय बमोजिम तपाईलाई मन्त्रालय मार्फत सफाई पेश गर्न मौका दिने भनी उल्लेख भएकोमा तपाईले सफाईको विषयबस्तु नेपाल सरकार, मन्त्रिपरिषद्मा विधिवत पेश हुनु अगावै अनलाईन सञ्चार माध्यममा सम्प्रेषण गरी आफ्नो पदीय हैसियत र आचरणको गम्भीर दुरुपयोग गर्नु भएको ।

(ज) सञ्चालक समितिले विभिन्न मितिमा गरेका निर्णयलाई कार्यान्वयन नगरी अवरोध गर्नु भएको ।

(झ) विद्युत जस्तो अत्यावश्यक सेवा प्रवाहको जिम्मेवारी पाएको नेपाल विद्युत प्राधिकरणमा कर्मचारीहरूबीच गुटबन्दी खडा गरी गराई समग्र नेपाल विद्युत प्राधिकरणको कार्यसम्पादनमा ह्रास आएको ।

(ञ) सार्वजनिक सञ्चार माध्यममार्फत संघीय संसद र सरकार विरुद्ध पटक-पटक अभिव्यक्ति दिनुभएको ।

चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे अर्थ मन्त्रालयको छलफल, पूँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चका विषयमा विषयगत मन्त्रालयहरूसँग विस्तृत छलफल गरेको छ। अर्थ मन्त्रालयका अनुसार चैत ११ गतेसम्म पूँजीगत खर्च ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

छलफलका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्चको गति बढाउन सम्बन्धित मन्त्रालयहरूलाई सक्रिय रूपमा लाग्न निर्देशन दिए।

“अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन र सहजीकरण गर्छ, तर आउनुपर्ने परिणाम र गर्नुपर्ने काम सम्बन्धित मन्त्रालयहरूको हो,” अर्थमन्त्री पौडेलले भने।

अर्थ सचिव घनश्याम उपाध्यायले खर्च क्षमताअनुसार आगामी वर्षको बजेटका लागि योजना तथा कार्यक्रम अघि बढाउन आग्रह गरे। राजस्व सचिव दिनेशकुमार घिमिरेले बजेटको सिलिङ वितरणमा सुधार गर्नुपर्ने बताए।

अर्थ मन्त्रालयले बजेट खर्च गर्न नसक्ने भए समयमा सरेन्डर गर्न निर्देशन दिएको छ। छलफलमा सहभागी सचिवहरूले पूँजीगत खर्च वृद्धिका लागि अन्तर-मन्त्रालय समन्वय, रकमान्तर, भुक्तानी प्रक्रिया तथा नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्।