Home Blog Page 33

बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ १५ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न दुईजना संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार २२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ । उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने म्याद थप

तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा खरिद आवेदन पेश गर्ने समयावधि थप गरिएको छ। कम्पनीले गत असार १६ गतेदेखि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

यो हकप्रदमा साउन ४ गतेसम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले साउन ११ गतेसम्म म्याद थप गरिएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्नुका साथै बैंकको कर्जा तिर्न उपयोग गर्ने जनाएको छ ।

कामना सेवा विकास बैंकले बनायो १७.३०% को लाभांश क्षमता, अधिकांश सूचकमा सुधार

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म १७.३० प्रतिशत लाभांश क्षमता कायम गर्दै नाफामा सुधार गरेको छ। बैंकले शुक्रबार चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यो तथ्यांक प्रस्तुत गरेको हो।

बैंकको चुक्तापूँजी ३ अर्ब ५१ करोड रुपैयाँ छ भने समीक्षा अवधिमा ६० करोड ७४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड १२ लाख रुपैयाँ र लाभांश क्षमता १२.५३ प्रतिशत थियो।

समीक्षा अवधिमा बैंकको खूद नाफा ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५८ करोड १८ लाख रुपैयाँभन्दा बढी हो। सञ्चालन नाफा पनि ९६ करोड ७८ लाखबाट बढेर ९८ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

ब्याज आम्दानी र कर्जा प्रवाहमा वृद्धि

अघिल्लो वर्ष २ अर्ब १३ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर २ अर्ब २४ करोड रुपैयाँ माथि पुगेको छ। ब्याजदर घटेको समयमा पनि खूद ब्याज आम्दानी वृद्धि हुनु बैंकको व्यवसाय विस्तारको संकेत हो।
समीक्षा अवधिमा बैंकले ६२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो क्रमशः ५९ अर्ब ६ करोड र ४५ अर्ब ९७ करोड रुपैयाँ थियो।

जोखिम व्यवस्थापन र अन्य वित्तीय सूचक

कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले ४१ करोड ७४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जुन अघिल्लो वर्षको ३५ करोड ८२ लाखभन्दा बढी हो।
प्रति सेयर आम्दानी (EPS) १८ रुपैयाँ १० पैसा पुगेको छ (अघिल्लो वर्ष १७ रुपैयाँ ७३ पैसा) भने रिटर्न अन इक्वीटी (ROE) ११.२६ प्रतिशतमा सीमित छ (अघिल्लो वर्ष ११.५० प्रतिशत)।
नेट एनपीएल अघिल्लो वर्षको ०.९१ प्रतिशतबाट घटेर ०.१९ प्रतिशत भएको छ।

अन्य मुख्य सूचकांक

  • कस्ट अफ फण्ड: ५.०९ प्रतिशतमा सीमित
  • आधार दर: ७.०७ प्रतिशत
  • प्रति सेयर नेटवर्थ: १६८.१३ रुपैयाँ
  • मूल्य आम्दानी अनुपात (P/E): २७.६९ गुणा
  • तरलता अनुपात: २४.४९ प्रतिशत
  • क्यापिटल एडेक्वेसी रेसियो (CAR): १३.२० प्रतिशत

कामना सेवा विकास बैंकले यस त्रैमासमा नाफा, निक्षेप र कर्जामा देखाएको सुधारका आधारमा आगामी वर्षमा पनि प्रतिस्पर्धात्मक लाभांश वितरणको सम्भावना देखिएको विश्लेषकहरुको भनाइ छ।

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ४० हजार कित्ता संस्थापक सेयर आजदेखि  बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने साउन ९ गतेभित्र कमलादीमाा रहेको बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ४० हजार कित्ताका लागि आवेदन दिन्ु पर्नेछ । सेयरको न्यूनतम मूल्य रु.१०० निर्धारण गरिएको छ ।  

प्राप्त शिलबन्दी बोलपत्रहरु साउन ११ गते बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिनेछ ।

राजस्व संकलनमा ११.३३ प्रतिशतको वृद्धि, अघिल्लो वर्षको तुलनामा १ खर्ब २० अर्बले बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब २० अर्ब रुपैयाँ बढी हो, जसअनुसार ११.३३ प्रतिशतको वृद्धि देखिएको अर्थ मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा यो वर्षको संकलन दर उत्साहजनक देखिएको छ।

लक्ष्यभन्दा थोरै कमी, तर सन्तोषजनक संकलन

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि सुरुमा १४ खर्ब १९ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन लक्ष्य राखेको थियो। तर अर्धवार्षिक समीक्षा पश्चात सो लक्ष्य घटाएर १२ खर्ब ८६ अर्ब रुपैयाँ बनाइएको थियो।
संशोधित लक्ष्यअनुसार हेर्दा कुल संकलन ९१.६० प्रतिशत मा सीमित रह्यो।

यस वर्षको लक्ष्य १३ खर्ब १५ अर्ब

चालू आर्थिक वर्ष २०८२/०८३ मा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले लक्ष्यअनुसार नीति, कर संरचना र संकलन प्रविधिमा सुधार गर्दै अघि बढ्ने जनाएको छ।

पछिल्लो १० वर्षको राजस्व संकलन विवरण:

आर्थिक वर्षराजस्व संकलन (रु. खर्बमा)
२०७१/०७२४.०५ खर्ब
२०७२/०७३४.८१ खर्ब
२०७३/०७४६.०९ खर्ब
२०७४/०७५७.२६ खर्ब
२०७५/०७६८.२९ खर्ब
२०७६/०७७७.९३ खर्ब
२०७७/०७८९.३५ खर्ब
२०७८/०७९१०.६६ खर्ब
२०७९/०८०९.५७ खर्ब
२०८०/०८११०.५८ खर्ब
२०८१/०८२११.७८ खर्ब

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गरेको हो ।

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

लुम्बिनी विकास बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख १ हजार ५३६ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि आम सर्वसाधारण वा जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि उक्त सेयर गत जेठ २६ गते ३५ दिने सूचना जारी गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साउन महिनाका लागि ब्याजदर सार्वजनिक: अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाए

काठमाण्डाै, असार ३१ – साउन महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वटा वाणिज्य बैंकहरूमध्ये १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटा बैंकले दर स्थिर राखेका छन्। एक बैंकले मात्र ब्याजदर वृद्धि गरेको छ।

ब्याजदर घटाउने प्रमुख बैंकहरू:

  • एनआईसी एशिया बैंक: व्यक्तिगत ६.२५% (अघिल्लो महिनामा ६.५५%), संस्थागत ५.२५%
  • नेपाल बैंक लिमिटेड: व्यक्तिगत ५.४% (अघिल्लो ५.४५%), संस्थागत ३.७५%
  • प्रभु बैंक: व्यक्तिगत ४.२५% (अघिल्लो ६.१०%), संस्थागत ३.२५%
  • एभरेष्ट बैंक: व्यक्तिगत ६.२५%, संस्थागत ५.२५% (दुवै घटाइएको)
  • सिटिजन्स इन्टरनेशनल बैंक: व्यक्तिगत ५.५%, संस्थागत ३%
  • राष्ट्रिय वाणिज्य बैंक: व्यक्तिगत ५.५% (अघिल्लो ६%), संस्थागत ४% (स्थिर)
  • सानिमा बैंक: व्यक्तिगत ६.१८%, संस्थागत ४% (अघिल्लो ६.३३%, ४.५%)
  • प्राइम कमर्सियल बैंक: व्यक्तिगत ६%, संस्थागत ३.१%
  • नेपाल एसबीआई बैंक: व्यक्तिगत ५.३५%, संस्थागत ४.३५%
  • कृषि विकास बैंक: व्यक्तिगत ५.४%, संस्थागत ३.५%
  • कुमारी बैंक: व्यक्तिगत ५.६१%, संस्थागत ४.०१%
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: व्यक्तिगत ५.२५%, संस्थागत ४.२५%
  • लक्ष्मी सनराइज बैंक: व्यक्तिगत ५.५०% (अघिल्लो ५.७५%), संस्थागत ४.५०% (स्थिर)
  • नबिल बैंक: व्यक्तिगत ५.५% (अघिल्लो ५.७५%), संस्थागत ४.०५% (स्थिर)

ब्याजदर स्थिर राख्ने बैंकहरू:

  • ग्लोबल आइएमई बैंक: व्यक्तिगत ६%, संस्थागत ४.२५%
  • सिद्धार्थ बैंक: व्यक्तिगत ५.७५%, संस्थागत ४.७५%
  • एनएमबी बैंक: व्यक्तिगत ६%, संस्थागत ५%
  • माछापुच्छ्रे बैंक: व्यक्तिगत ६%, संस्थागत ४%

ब्याजदर बढाउने एकमात्र बैंक:

  • हिमालयन बैंक: व्यक्तिगत ६% (अघिल्लो ५.५%), संस्थागत ५% (अघिल्लो ४%)

थोरै वृद्धि:

  • स्ट्यान्डर्ड चार्टर्ड बैंक: व्यक्तिगत ६.२६% (अघिल्लो ६.२५%), संस्थागत ३% (स्थिर)

विश्लेषण: नेपालमा जारी तरलता सुधार, कमजोर कर्जा माग, र नियामकीय दबाबका कारण बैंकहरूले ब्याजदरमा कटौती गर्दै आएका छन्। यसले आम निक्षेपकर्ताको प्रतिफल घटाए पनि बैंकहरूका लागि कर्जाको लागत घटाउने संकेत दिन्छ।

घुसकाण्डमा मुछिएपछि संघीय मामिला मन्त्री राजकुमार गुप्ताको राजीनामा

काठमाण्डौ, असार ३१ – घुस लिएको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। केही दिनअघि सार्वजनिक भएको अडियो रेकर्डमा मन्त्री गुप्ताले आर्थिक लेनदेनका विषयमा वार्ता गरिरहेको सुनिएपछि उनी चौतर्फी आलोचनाको घेरामा परेका थिए।

विपक्षी दलहरूबाट तीव्र विरोधसहित राजीनामा र कानुनी कारबाहीको माग भएपछि गुप्ताले आज औपचारिक रूपमा पद त्याग गरेका हुन्। अडियोमा, पुस/माघ महिनामा काम गरिदिने सर्तमा पैसा लिएको दाबी गरिएको छ।

उक्त अडियो रेकर्डमा कास्की जिल्लाको भूमि आयोग अध्यक्ष नियुक्ति विषयमा गुप्ताले एक व्यक्तिसँग पैसा लिएको संवाद छ। साथै, पोखराको जग्गा सम्बन्धी विषय र अन्य जिल्लाका मालपोत कार्यालयमा फोन गरी ‘सहयोग माग्ने’ तथा ‘काम नगरेमा सरुवा गरिदिने’ चेतावनी दिएको दाबीसमेत अडियोमा गरिएको छ।

यस प्रकरणले गम्भीर राजनीतिक तरंग ल्याएको छ भने सरकारभित्र पनि नैतिकताको प्रश्न उठेको छ। अब यो मामिलामा प्रशासनिक छानबिनकानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।