Home Blog Page 47

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा ४७ प्रतिशतले घट्यो, आम्दानी र प्रतिशेयर आम्दानीमा पनि गिरावट

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा झन्डै ४८ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको ७ करोड ५० लाख रुपैयाँ नाफाको तुलनामा ४७.६७ प्रतिशत कम हो।

कम्पनीको सञ्चालन तथा कुल आम्दानीमा आएको गिरावट नै नाफा घट्नुको मुख्य कारण हो। त्रैमासिक विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ५७.२४ प्रतिशत र कुल आम्दानी ५६.४२ प्रतिशतले घटेको छ। यस्तै, कम्पनीको कुल खर्च पनि ४४.१७ प्रतिशतले घटेको छ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस २ रुपैयाँ ४ पैसा घटेर १ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७८ रुपैयाँ ३३ पैसा रहेको छ। मूल्य आम्दानी अनुपात (P/E Ratio) उच्च ७४०.२६ गुणामा पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ छ। यस्तै, रिटेन्ड अर्निङ्ग २८ करोड ६२ लाख रुपैयाँ र फेर भ्यालु रिजर्भ ५१ करोड ५७ लाख रुपैयाँ रहेको छ।

अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको विनिमय दर घट्यो

0

नेपाल राष्ट्र बैंकले सोमबार (वैशाख १६ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरसहित युरो, पाउण्ड स्टर्लिङलगायतका प्रमुख मुद्राहरूको भाउमा गिरावट आएको छ।

राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.७६ रुपैयाँ र बिक्रीदर १३६.३६ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो दर क्रमशः १३६.४३ रुपैयाँ (खरिद) र १३७.०३ रुपैयाँ (बिक्री) थियो।

युरोको दरमा समेत गिरावट देखिएको छ। आज एक युरोको खरिददर १५४.०१ रुपैयाँ र बिक्रीदर १५४.६९ रुपैयाँ रहेको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। अघिल्लो दिन युरोको खरिददर १५५.०५ र बिक्रीदर १५५.७३ रुपैयाँ थियो।

पाउण्ड स्टर्लिङको दरमा पनि कमी आएको छ। आज एक पाउण्डको खरिददर १८१.०५ रुपैयाँ र बिक्रीदर १८१.८५ रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन यो दर क्रमशः १८१.६६ रुपैयाँ र १८२.४६ रुपैयाँ थियो।

अन्य केही प्रमुख विदेशी मुद्राहरूको विनिमय दर यस प्रकार छन्:

  • अष्ट्रेलियन डलर: खरिददर ८६.८३, बिक्रीदर ८७.२१ रुपैयाँ
  • जापानी येन (१० येन): खरिददर ९.४६, बिक्रीदर ९.५० रुपैयाँ
  • युएई डिराम: खरिददर ३६.९६, बिक्रीदर ३७.१२ रुपैयाँ
  • चिनियाँ युआन: खरिददर १८.६०, बिक्रीदर १८.६८ रुपैयाँ
  • मलेसियन रिंगेट: खरिददर ३१.१२, बिक्रीदर ३१.२५ रुपैयाँ
  • कतारी रियाल: खरिददर ३७.२५, बिक्रीदर ३७.४१ रुपैयाँ
  • कोरियन वन (१०० वन): खरिददर ९.४०, बिक्रीदर ९.४४ रुपैयाँ
  • कुवेती डिनार: खरिददर ४४२.५२, बिक्रीदर ४४४.४७ रुपैयाँ

नेपाल राष्ट्र बैंकले दैनिक विनिमय दर निर्धारण गर्दै सार्वजनिक गर्ने अभ्यास गर्दै आएको छ, जुन आयात-निर्यात तथा रेमिट्यान्स कारोबारका लागि सन्दर्भ दरको रूपमा प्रयोग हुन्छ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

निर्धारित म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

विद्युतीय सवारी साधनको कारोबारमा केन्द्रीय बैंकको कडाइ, हायर पर्चेज कर्जामा पनि नियन्त्रण

विद्युतीय सवारी साधन (इभी) को बढ्दो कारोबारलाई नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल राष्ट्रबैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरूमाथि समेत कडाइ गरेको छ।

मौद्रिक नीतिको दोस्रो समीक्षामार्फत विद्युतीय सवारी साधनको लोन टू भ्यालू (एलटिभी) अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको राष्ट्रबैंकले अब हायर पर्चेज कम्पनीहरूलाई पनि यही सीमाभित्र कर्जा प्रवाह गर्न बाध्य बनाउने नीति लिएको हो।

यसका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०’ को पाँचौं संशोधन (२०८२) जारी गरेको छ। संशोधित व्यवस्थाले, सवारी साधन खरिद गर्दा लोन टू भ्यालू रेसियो अधिकतम ६० प्रतिशतमा सीमित गर्नुपर्ने स्पष्ट गरेको छ। यो नियम सबै प्रकारका विद्युतीय सवारी र निजी प्रयोजनका अन्य सवारी साधनमा लागू हुनेछ।

यसअघि मौद्रिक नीतिको संशोधित व्यवस्थाबाट इभी सवारीका लागि एलटिभी ६० प्रतिशत तय भए पनि केही व्यापारीहरूले हायर पर्चेज कम्पनीमार्फत साबिकको ८० प्रतिशत एलटिभीमा सवारी बिक्री गर्ने क्रम जारी राखेका थिए। नयाँ संशोधनले यस्ता अभ्यासमा पूर्णरूपमा रोक लगाउनेछ।

राष्ट्रबैंकको यो कदमबाट इभी गाडी बिक्री गरिरहेका बिक्रेताहरू थप अप्ठ्यारोमा परेका छन् भने पेट्रोल तथा डिजेल इञ्जिन भएका सवारीका लागि भने मौद्रिक नीतिमा अघिकै व्यवस्थाले निरन्तरता पाएकाले तिनीहरू लाभान्वित हुने देखिएको छ।

पैचो पसलले आईपीओ निष्कासन गर्ने

कृषि क्षेत्रमा क्रियाशील पैचो पसल प्रालिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बुटवल, रुपन्देहीस्थित रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालि उच्च पहाडी क्षेत्रका उत्पादनहरूलाई प्रशोधन तथा बजारसम्म पुर्याउने कार्यमा संलग्न छ। कम्पनीले उच्च गुणस्तर कायम गर्दै तरकारी तथा अन्य खाद्य वस्तु—जस्तै केचप, अचार, जाम आदिको उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएको छ।

पैचो पसल केवल खाद्य उत्पादनमा मात्र सीमित नरही, बीउबिजन उत्पादनदेखि बजार व्यवस्थासम्म कृषकहरूसँग सहकार्य गर्दै ग्रामीण समुदायको आर्थिक तथा सामाजिक उत्थानमा योगदान पुर्याउँदै आएको कम्पनी हो। साथै, कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता मार्फत कृषकहरूलाई खेत बाहिर पनि जीवनयापनका अवसर सिर्जना गरिरहेको जनाएको छ।

कम्पनीले आईपीओ मार्फत व्यवसायलाई अझ प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको छ। पैचो पसललाई बेलायतको Foreign, Commonwealth and Development Office (FCDO) अन्तर्गतको CASA Program बाट सक्रिय सहयोग प्राप्त भइरहेको छ। कम्पनीको क्षमता विकास, मूल्य सुदृढीकरण तथा ग्रामीण उद्यमीहरूलाई वित्तीय पहुँच विस्तारका लागि ट्रु नर्थ एसोसिएट्स प्रालिले परामर्श सेवा प्रदान गर्दै आएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांशका लागि आजसम्म सेयरधनी बनिसक्नुपर्ने

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को लाभांश प्राप्तिका लागि आजसम्म कायम सेयरधनीहरू मात्र योग्य हुने भएका छन्। कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि वैशाख १७ गते बुक क्लोज गर्ने जनाएको छ।

यसर्थ, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्ने र साधारण सभामा सहभागी हुने अधिकार पाउनेछन्।

कम्पनीको सञ्चालक समितिले गत चैत २८ गते बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीमा आधारित रही सेयरधनीहरूलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

साथै, कम्पनीले साधारण सभा यही वैशाख २८ गते काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल ब्याङ्क्वेटमा बिहान १० बजेदेखि आयोजना गर्ने तयारी गरेको छ। उक्त सभामा प्रस्तावित १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

विद्या भट्टराई र पूर्णबहादुर तामाङ संसदीय समितिमा मनोनयन

0

हालै शिक्षा मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई र राज्यमन्त्रीबाट बर्खास्त भएका पूर्णबहादुर तामाङलाई संसदीय समितिमा मनोनयन गरिएको छ। प्रतिनिधि सभाका सदस्यहरूको समिति हेरफेर गर्दै उनीहरूलाई विभिन्न समितिमा पठाइएको हो।

भट्टराईलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्यमा मनोनयन गरिएको छ। उनी मन्त्री बन्नुअघि पनि सोही समितिमा सदस्य थिइन्। प्रतिनिधि सभा नियमावलीअनुसार मन्त्री नियुक्त भएपछि संसदीय समितिबाट स्वतः बिदा हुने व्यवस्था छ।

त्यस्तै, तामाङलाई अर्थ समितिको सदस्यमा नियुक्त गरिएको छ। साथै, एमाले सांसद पदम गिरीलाई अर्थ समितिबाट हटाई राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ। गिरीलाई रघुजी पन्त मन्त्री बनेपछि सो समितिमा लगिएको हो।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले समितिहरूमा सांसदहरू हेरफेर गरिएको सूचना प्रस्तुत गरेका थिए।

एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने , अनुमति माग गर्दै दियो सेबोनमा निबेदन

0

एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरमा ५ अर्ब रुपैयाँ बराबरको ‘एनएमबी पावर बोन्ड वान’ नामक ऋणपत्र निष्कासनको लागि वैशाख ११ गते आवेदन दिएको हो।

बोर्डबाट अनुमति प्राप्त गरेपछि बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता गरी कुल ५० लाख कित्ता ऋणपत्र जारी गर्नेछ।

७ वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत प्रतिफल रहनेछ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

गोर्खाज फाइनान्समा दुईजना सञ्चालक नियुक्त

0

गोर्खाज फाइनान्स लिमिटेडमा दुईवटा सञ्चालक नियुक्त भएका छन् । वैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१७ औं बैठकले रिक्त रहेको सञ्चालक पदमा कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु) र विनोद कुमार चोङवाङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु)लाई संस्थापक सेयरधनीका तर्फबाट र विनोद कुमार चोङवाङलाई सर्वसाधारण समूह तर्फबाट प्रतिनिधित्व गर्नेगरी बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।

यी दुवै जनालाई वैशाख १५ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सुन र चाँदीको मूल्यमा गिरावट, आज एकैदिन प्रतितोला १४ सय रुपैयाँले घट्यो सुन

अघिल्लो दिन सामान्य वृद्धि भएको सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ८८ हजार ३ सय रुपैयाँमा सीमित बनेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस दिन सुनको मूल्यमा १ सय रुपैयाँले सामान्य वृद्धि देखिएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ।