मोदी ईनर्जी लिमिटेडको आईपीओ आज वैशाख १९ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन खुला भएको छ।
यस अघि यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि आईपीओ बाँडफाँट गरिसकेको छ।
कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। यस मध्य ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर पनि थप गर्दै ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ ।
यूएईका जुनैद सिद्दिकी ललितको बलमा मिडविकेट क्षेत्रमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज भएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भयो ।
२८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । आज ललितले त्यहीबाट बलिङ गरेर यूएईलाई अलआउट गरे । तर ह्याट्रिक गर्नबाट चुके ।
अहिले नेपालले ब्याटिङ सुरु गरेको छ । आज पनि वर्षाको सम्भावना रहेकाले नियमित खेलमा नतिजा नआएमा सुपर ओभरको विकल्प रहने छ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ ।
यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसी वरीयताको आधारमा अगाडि रहेकाले नेपाल च्याम्पियन बन्नेछ ।
प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ । सोमबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये १६ कम्पनीलाई आशयपत्र दिएको छ ।
अहिले बजारमा ५० वटा कम्पनीले कारोबार गरिहेका छन् । १६ वटा ब्रोकर कम्पनीले आशयपत्र पाएसँगै ६६ कम्पनीले कारोबार गर्ने भएका छन् ।
आज आशयपत्र पाउने कम्पनीहरु निम्न छन् :
१. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी _स्टक डिलर) २. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल ३. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल ४. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ९. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल १०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल ११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल १२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल १३. इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल १४. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल १५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल १६. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
घोराही सिमेन्टले बैशाख १९ गतेबाट प्रिमियममा आइपीओ निस्कासन गर्दैछ । जसमा ३९७१९० कित्ता उध्योग प्रभाबित क्षेत्रलाई रु ४०० का दरले ७५४६६१ कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीलाई तथा बाँकी ५७९१९५० कित्ता सर्बसाधारणलाई गरी जम्मा ६९४३८०१ किता सेयर निस्कासन गर्न लागेको छ ।
हामी घोराही सिमेन्टको आधारभुत तथा केही प्राबिधिक पक्ष केलाउने प्रयास गर्दैछौ ।
घोराही सिमेन्टको प्रतिशेयर आम्दानी २०७६-७७ मा १. ८४ तथा नेटवर्थ २१७.१२, आ ब २०७७-७८ मा प्रतिशेयर आम्दानी १२.0 तथा नेटवर्थ २१८.७७ त्यस्तै २०७८-७९ मा प्रतिशेयर आम्दानी ६.८१ तथा नेटवर्थ २२६.६१ रहेको छ भने २०७९-८० को पुष मसान्तसम्म प्रतिशेयर आम्दानी ०.५०, नेटवर्थ २२६.६१ रहेको छ ।
आगामी आबको अनुमानित प्रतिसेयर आम्दानी आब २०७९-८० को अनुमानित प्रतिसेयर आम्दानी ११.६५ ,अनुमानित प्रतिसेयर आम्दानी आब २०८०-८१ को १६.३३ र आ ब अनुमानित प्रतिसेयर आम्दानी २०८१-८२को २४.५८ रहन सक्ने प्रक्षेपण गरिएको छ ।
कम्पनिले १०० रुपैयाको शेयर प्रिमियम थपेर बेच्न लागेको छ प्रती सेयर रु १०० दरले उध्योग प्रभाबित क्षेत्रका लागि ३०० प्रिमियम थपी प्रतिशेयर रु ४०० अङ्कित मुल्य कायम गरिएको र सर्बसाधारणका लागि रु १०० प्रतिसेयरमा प्रतिसेयर ३३५ प्रिमिउम थपी रु ४३५ अङ्कित मुल्य कायम गरिएको छ ।
कम्पनिको ट्रेलिङ पिइ रेसियो कती ?
कम्पनिको मुल्यलाई इपिएसले भाग गर्दा पिइ रेसियो निस्किन्छ . यहाँ हामी कम्पनिको एक सेयर किन्न ४३५ रुपैया तिर्दैछु र कम्पनिको बिगत बर्षको इपिएस ६.८१ ले भाग गर्दा ६३.८८ हुन्छ जुन ट्रेलिङ पिइ रेसियो हो . यसको अर्थ तपाईंले रु १ रिटर्नको लागि ६३.८८ तिर्नुपर्ने हुन्छ ।
प्राइस टु बुक रेसियो
यहाँ हामी आइपीओमा ४३५ लगाउदैछौ भने बुक भ्यालु लगभग २२६ छ, भनेपछी पिबी रेसियो १.९२ हुन्छ यस्को मतलब हामी यस् कम्पनिलाई नेटवर्थको १.९२ गुणा तिर्दैछौ ।
सर्बसाधारण सेयर रु ४३५ मा किन्दा के हुन्छ ?
आब २०७८-७९ मा प्रतिशेयर आम्दानी ६.८१ लाई आधार मानौ । यहाँ रु १०० को लगानीमा ६.८१ रिटर्न पाउछ यसको अर्थ यदी कसैले सो सेयर ४३५ मा किन्छ भने उसले रु १०० को लगानिमा कती रिटर्न पाउछ भनेर हेर्दा यहाँ १०० को सेयरलाई ४३५ मा किनेको हुदा किन्नेसङ्ग १ कित्ता सेयर हुन्छ जसलाई ब्रेकडाउन गर्दा ६.८१ लाई ४.३५ ले भाग गर्दा १.५६ यानिकी १०० को लगानिमा उसले १.५६ % प्रतिफल पाउछ । त्यस्तै २०७९-८० को अपरिस्क्रित ०.५० नै रहन्छ भन्ने मान्ने हो भने त झन सयको लगानिमा ०.११ रिटर्न पाउनेछ तर कम्पनिले प्रतिसेयर आम्दामी ११.६५ को अनुमान गरेको छ । यदी कम्पनिको प्रतिसेयर प्रक्षेपण गरेको आम्दानिलाई नै अन्तिम सत्य मान्दा पनि १०० को लगानिमा प्रतिफल २.६८ पाउने देखिन्छ ।
आइपिओ निस्कासनबाट प्राप्त रकम रिण तिर्न प्रयोग गरिने ।
कती रकम रिण तिर्ने ? – रु ३४१७९८९००० ,अक्षरेपी ३ अरब ४१ करोड ७९ लाख ८९ हजार ।
कम्पनिको चुक्ता पुजीअल्पकालिन रिण र दिर्घकालिन रिण कती ?
सेयर चुक्ता पुजी – ३१७७५२०५००, अक्षरेपी ३ अरब १७ करोड ७५ लाख २० हजार ५०० ।
दिर्घकालिन रिण – ८८९९८०२०००, अक्षरेपी ८ अरब ८९ करोड ९८ लाख २ हजार ।
अल्पकालिन रिण – २७३४३१०००० ,अक्षरेपी २ अरब ७३ करोड ४३ लाख १० हजार ।
In thousands
निस्कर्षमा
समग्रमा हेर्दा घोराही सिमेन्टमा लगानी लङ टर्मको लागि सुरक्षित देखिन्दैन । अहिलेको ४३५को लगानी फेयर भ्यालुभन्दा बढी देखिन्छ । शिभम सिमेन्टको लगभग उस्तै नेटवर्थ रहेको, कम्पनी घोराहिको पिइ रेसियो भन्दा कम पिइ रेसियो रहेको तर इपिएस बढी रहेको सिभम सिमेन्टको हाल बजार मुल्य ४०५ रहेको छ । ट्रेडिङ पर्पोजको लागि किन्नु हुन्छ भने तपाईंको रिस्क लिन सक्नु हुन्छ तर लगानीको लागि उचित देखिन्दैन ।
लगानिको लागि समग्र पक्ष केलाउदा लगानी गर्न उपयुक्त देखिन्दैन ।
यो बिचार बिस्लेशण हो , तपाईंले लगानी गर्दा तपाईंको पैसा खर्च गर्नु हुने भएकोले तपाईं आँफै बिस्लेषण गर्नु होला । यसलाई बाइ सेलको रिकोमेन्डेसनको रुपमा नलिनुहोला । यसलाई अन्तिम सत्य नमान्नुहोला ।
आरविवि म्युचुअल फण्ड अन्तरर्गत सञ्चलन हुने आरविवि म्युचुअल फण्ड २ को इकाई आज वैशाख १७ गतेदेखि बिक्रीमा आएको छ। प्रति इकाई अंकित मूल्य १० रूपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ८० लाख वा बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री गर्न लागिएको हो
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई विक्रीबाट संकलित रकम सूचीकृत तथा सार्वजनिक निष्कासनका धितोपत्र, नेपाल सरकारले जारी गरेको ऋणपत्र ट्रेजरी बील तथा मुद्रा बजारका अन्य साधानहरू, बैंक निक्षेप र नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी हुनेछ ।
योजनको इकाई बाँडफाँड भएको मितिले १० वर्ष अवधि पश्चा्त योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ ।
मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।
अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए । ‘टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो’, गोदारले भने ।
अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेल मार्फत नदी बग्दै आएको थियो ।
टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ । पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ ।
सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ ।
नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ । पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ ।
काठमाडौं कपनकी निरा पाण्डे आचार्य (निरु) को हत्या आरोपमा पक्राउ परेका विनोद बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ ।
प्रहरीले शनिबार झापाबाट पक्राउ परेका बिक नियमित जाने गरेको काठमाडौंको कागेश्वरी-मनोहरास्थित एक रेष्टुरेन्टको कोठाबाट ती सामान बरामद गरेको हो ।
कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको ७ वैशाखमा आफ्नै पसलमा हत्या भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा सीसीटीभीमा एक युवकलाई देखेको थियो । ती युवक राइड सेयरको मोटरसाइकलमार्फत कागेश्वरी मनोहरास्थित एक रेष्टुरेन्टमा गएको अनुसन्धानमा खुलेपछि प्रहरीले त्यहाँ पुगेको थियो ।
प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा देखिएको झोला नै बरामद भएको हो । पक्राउ परेका बिक घटनापछि कागेश्वरी मनोहरास्थित रेष्टुरेन्टको कोठामा गएको र भोलिपल्ट झापा पुगेको प्रहरी स्रोतको भनाइ छ ।
सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ ।
वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी रहेका खड्काको सचिवालयले जनाएको छ ।
सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका थिए ।
महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन ।
पुनले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए ।
उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थलसम्म आउन नत्र संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौं । । यो अनुरोध सबै पार्टीलाई हो । अरु पार्टी पनि आएर मेरो भाषण सुनुन् । की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन् ,’ उनले भने ।
नेताहरुले बोलेर मात्रा केही नहुने भन्दै उनले केही काम गर्नसक्ने नेताको खाँचो रहेको उनको भनाइ छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।
सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही रु दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय नभएको बताएका हुन् ।
“अयोग्य लडाकुका विषय अदालतमा पुग्यो । बजेटमा पनि रहेछ । म अर्थमन्त्री भएपछि कुनै निर्णय भएको छैन । यो विषय अगाडि बढाउन मन्त्रिपरिषद्ले पास गरेको भनिएको कार्यविधिबारे मलाई जानकारी छैन”, अर्थमन्त्री महतले भने, “बजेटको व्यवस्थाअनुसार कार्यविधि गृह मन्त्रालयले अघि बढाएको हुनुपर्छ । म आइसकेपछि कुनै निर्णयमा म संलग्न छैन । मलाई योबारे जानकारी नै छैन ।”
सरकारबाट अनावश्यकरुपमा राज्यको सम्पत्ति दुरुपयोग हुने विषयमा कुनै शङ्का नगर्न पनि अर्थमन्त्री महतले आग्रह गरे। “अयोग्य लडाकुका नाममा राज्यकोष दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार गर्ने, ढुकुटी सक्न लागे कि भन्ने खालका आशङ्का नगर्न म आग्रह गर्दछु”, अर्थमन्त्री महतले भने ।
उनले व्यक्तिभन्दा माथि देश रहेको उल्लेख गर्दै आफ्नो दल नेपाली कांग्रेसले पनि यो विषयमा चासो लिइरहेको बताए । अयोग्य लडाकुका विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्गो लगाइनुपर्ने उनको भनाइ छ ।
अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले अर्थमन्त्री महतलाई आज सातबुँदे ज्ञापनपत्र बुझाएको छ । “गत चैत ६ गतेको मन्त्रिपरिषद् निर्णयबाट अयोग्य लडाकुलाई प्रतिव्यक्ति रू दुई लाख वितरण गर्नेगरी गृह मन्त्रालयद्वारा तयार गरी यही वैशाख ६ गतेको मन्त्रिपरिषद् वैठकमा प्रस्तुत भएको सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” राष्ट्रिय युवा सङ्घले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।रासस