Home Blog Page 24

सेनाले देशभर लगायो निषेधाज्ञा र कर्फ्यू

0

काठमाडौं । राष्ट्रिय शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले नेपाली सेनाले आजदेखि देशभर निषेधाज्ञा (कर्फ्यू) लागू गरेको छ। सेनाले जनाएको अनुसार कर्फ्यू आज साँझ ५ बजेसम्म जारी रहनेछ भने त्यसपछिसमेत निरन्तरता दिइँदै भोलि बिहान ६ बजेसम्म लागू हुनेछ।

सेनाले दिएको सूचनाअनुसार हालको आन्दोलनको आवरणमा केही अराजक समूहहरूले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटजस्ता अपराधजन्य गतिविधि बढाएका छन्। साथै, हिंसात्मक आक्रमण र बलात्कार प्रयासजस्ता गम्भीर अपराध हुने जोखिम रहेको चेतावनी दिइएको छ।

यसै कारण, यस्ता घटनाहरू रोक्न सबै नागरिकलाई सहयोग गर्न सेनाले अनुरोध गरेको छ। आन्दोलनको नाममा हुने कुनै पनि हिंसात्मक प्रदर्शन, तोडफोड, लुटपाट वा सम्पत्तिमाथि आक्रमणलाई गम्भीर अपराधका रूपमा लिने र दोषीमाथि कडा कारबाही गर्ने चेतावनी पनि सेनाले दिएको छ।

कर्फ्यू अवधिमा अत्यावश्यक सेवासम्बन्धी सवारी साधनहरू—जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका गाडीहरू भने सामान्य रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ। आवश्यक परेको अवस्थामा नजिकैका सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न पनि सेनाले आग्रह गरेको छ।

साथै, सेनाले अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाहमा नपरी केवल आधिकारिक सूचनामा मात्र विश्वास गर्न आह्वान गरेको छ।

नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवनलाई सामान्य बनाउन आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

जेन्जी आन्दोलन काठमाडौं बाहिर पनि चर्कियो

0

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरोधी आन्दोलन : काठमाडौं बाहिर पनि जेनजीको आक्रोश चर्कियो

काठमाडौं । सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन काठमाडौं बाहिर पनि उग्र बनेको छ । काठमाडौंमा १७ जनाको ज्यान गएपछि मुलुकका विभिन्न सहरमा आन्दोलन तीव्र बनेको हो । सुनसरी, झापा, बुटवलदेखि कर्णालीसम्म आक्रोशित युवाहरू सडकमा उत्रिएका छन् ।


इटहरीमा उपमहानगर कार्यालयमा आगजनी, २ को मृत्यु

सुनसरीको इटहरीमा जेनजी आन्दोलन हिंसात्मक बनेको छ । सोमबार दिउँसो प्रदर्शनकारी उपमहानगरपालिकाको परिसरभित्र प्रवेश गरी मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा २ जनाको ज्यान गएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।


दमकमा गोली, ओली निवासमा ढुंगामुढा

झापाको दमकमा भएको आन्दोलनमा प्रहरीको गोली लागी ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई विएण्डसी अस्पतालमा उपचारका लागि लगिएको छ । आन्दोलनरत युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित निवासमा समेत ढुंगामुढा प्रहार गरेका थिए ।


कर्णालीमा शान्तिपूर्ण प्रदर्शन

कर्णाली प्रदेशमा भने जेनजीले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरेका छन् । वीरेन्द्रनगरको मंगलगढी चोकदेखि सुरु भएको र्‍याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर सभा बनेको थियो । ‘जुरुक्क जेनजी, जीउँदो कर्णाली’ भन्ने नारासहित युवाहरूले संयमित आन्दोलन गरेका थिए ।


बुटवलमा कर्फ्यू, एमाले कार्यालय घेराउ

बुटवलमा आन्दोलनरत युवाहरूले नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । यसअघि उनीहरूले उपमहानगरपालिकाको गेट अगाडि तथा राजमार्ग क्षेत्रमा प्रदर्शन गरेका थिए । स्थिति तनावपूर्ण भएपछि रुपन्देही प्रशासनले सोमबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरेको छ ।

१८ जना भन्दा बढिको मृत्युपछि मानवाधिकार आयोगले भन्यो , ‘बानेश्वर घटनामा सरकारबाट अत्यधिक बल प्रयोग भयो’

प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी १८ जना भन्दा बढी जेनजी आन्दोलनकारीको ज्यान गएपछि राष्ट्रिय मानवअधिकार आयोग बोलेको छ ।

सामान्यतया यस्ता प्रदर्शन अघि वा घटनाक्रमकै समयमा सरकारलाई खबरदारी गर्ने आयोग यसपटक २ सयभन्दा बढी घाइते र १८ जनाको मृत्युको समाचार सार्वजनिक भएपछि मात्रै बोल्न बाध्य भएको हो ।

यसपटक आयोगको ढिलासुस्ती र मौनताप्रति विभिन्न क्षेत्रबाट कडा आलोचना भइरहेको छ । सरकारले बानेश्वरमा भएको प्रदर्शनलाई दबाउन बल प्रयोग गर्दा समेत आयोग मौन बसेको भन्दै आलोचना भएको हो ।

आलोचनाकै बीच आयोगले विज्ञप्ति जारी गर्दै आन्दोलनकारीमाथि ‘अत्यधिक’ बल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ । साथै उसले जेनजी आन्दोलनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन आग्रह गरेको छ ।

आयोगले प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुनु दुःखद भएको उल्लेख गर्दै भनेको छ, “प्रदर्शनकारी संसद भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनमा देखिएको छ । दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएको जानकारी प्राप्त भएको छ ।”

लोकतान्त्रिक सरकारले नागरिकका आवाजलाई समयमै सम्बोधन गर्नुपर्ने भन्दै आयोगले थप चेतावनी दिएको छ । “विमति समयमै सम्बोधन नहुँदा प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,” विज्ञप्तिमा भनिएको छ ।

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

0

लामो समयसम्म रिक्त रहेको नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले लामो समयपछि आज नेप्सेको अध्यक्षमा बस्याललाई नियुक्त गरेको हो ।

यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सीइओ थिए । उनले गत भदौ १३ गते पदबाट राजीनामा दिएका थिए ।

एनआईबिएल र मेगा म्युचुअल फण्डका तीन योजनाले लाभांश घोषणा

0

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड र मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन योजनाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्।

कोष व्यवस्थापक एनआईएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले एनआईबिएल ग्रोथ फण्ड, एनआईबिएल समृद्धि फण्ड–२ र मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो।

घोषणाअनुसार,

  • एनआईबिएल ग्रोथ फण्ड का इकाईधनीहरुले १० प्रतिशत लाभांश पाउनेछन्।
  • एनआईबिएल समृद्धि फण्ड–२ का इकाईधनीहरुले ११.७५ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।
  • मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुले ७ प्रतिशत लाभांश पाउनेछन्।

लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ, भदौ २६ गतेसम्म नेप्से प्रणालीमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्र लाभांश पाउन योग्य हुनेछन्।

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट

0

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।

शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाएर सरकारको निर्णय खारेज गर्न माग गरेका छन्। साथै, सामाजिक सञ्जाललाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आदेश दिन माग गरिएको छ।

त्रिपाठीले दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतले जनाएको छ।

यसअघि सरकारले भदौ १९ गतेदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा एप बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले क्रमशः सामाजिक सञ्जाल बन्द गर्न थालेका थिए।

निफ्राद्वारा लाभांश घोषणा

0

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको. सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सिद्धार्थ क्यापिटलले ३०% नगद लाभांश प्रस्ताव , डाक्यो साधारण सभा

0

सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १४ औं साधारण सभा डाकेको हो ।

उक्त सभा असोज ९ गते काठमाण्डौको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा अपरान्ह साढे ४ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ३० प्रतिशत कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८१/८२ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गरिनेछ ।

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ हजार ८१.४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ८५० रुपैयाँ कायम भएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बेंकिङमा आफू खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन पेश गर्नु पर्नेछ ।

निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

धौलागिरी लघुवित्तको संस्थापक सेयर लक–इन अवधि भदौ १९ गते  समाप्त हुँदै

0

काठमाडौं। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आगामी भदौ १९ गते समाप्त हुने भएको छ। सो मितिपछि संस्थापक सेयरधनी र कर्मचारीका लागि सुरक्षित गरिएको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्।


मर्जरपछि बाँकी सेयर

संस्था खप्तड लघुवित्तसँग मर्जरमा गएको थियो। मर्जरपश्चात:

  • संस्थापक सेयरधनी : २ लाख १ हजार कित्ता
  • कर्मचारी स्वामित्व : १५ सय कित्ता

यी सेयरहरुको लक–इन अवधि समाप्त भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।


मर्जरअघि अवस्था

  • संस्थापक स्वामित्व : २ लाख ६८ हजार कित्ता
  • कर्मचारी स्वामित्व : २ हजार कित्ता

आईपीओ र बाँडफाँड विवरण

संस्थाले २०७९ भदौ ८ देखि १२ गतेसम्म सर्वसाधारण (कर्मचारीसहित) का लागि आईपीओ निष्कासन गरेको थियो। सो आईपीओको २०७९ भदौ २० गते बाँडफाँड भएको थियो।


प्रतिबन्धित सेयरधनी

लक–इन अवधि समाप्त भए पनि:

  • सञ्चालक समितिका पदाधिकारी
  • व्यवस्थापन तहका कर्मचारी

यी व्यक्तिहरुले भने पद बहाल रहुन्जेल तथा अवकाश प्राप्त गरेको मितिले कम्तीमा १ वर्षसम्म आफ्ना सेयर खरिद–बिक्री गर्न पाउने छैनन्।


यसरी धौलागिरी लघुवित्तको लक–इन अवधि समाप्त भएपछि करिब २ लाख २ हजार ५ सय कित्ता सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्।