Home Blog Page 23

असोज महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश बैंकले ब्याजदर घटाए

काठमाडौं— वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नेपालका २० वाणिज्य बैंकहरूमध्ये ९ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन् भने ९ वटाले ब्याजदर घटाएका छन्। दुई बैंकले भने ब्याजदर वृद्धि गरेका छन्।

धेरैजसो बैंकहरूले ब्याजदर घटाएको कारण असोज महिनामा ब्याजदरको औसत दर घटेको देखिएको छ। भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५.५७% रहेकोमा, असोजमा घटेर ५.४६% मा झरेको छ।

ब्याजदर स्थिर राख्ने बैंकहरू:

  • प्रभु बैंक: व्यक्तिगत ५.३५%, संस्थागत ३.२५%
  • राष्ट्रिय वाणिज्य बैंक: व्यक्तिगत ५.५%, संस्थागत ४%
  • ग्लोबल आइएमई बैंक: व्यक्तिगत ६%, संस्थागत ४.२५%
  • सिद्धार्थ बैंक: व्यक्तिगत ५.५%, संस्थागत ४%
  • एनएमबी बैंक: व्यक्तिगत ६%, संस्थागत ५%
  • हिमालयन बैंक: व्यक्तिगत ६%, संस्थागत ५%
  • माछापुच्छ्रे बैंक: व्यक्तिगत ६%, संस्थागत ४%
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: व्यक्तिगत ५.२५%, संस्थागत ४.२५%
  • नबिल बैंक: व्यक्तिगत ५.५%, संस्थागत ४.०५%

ब्याजदर घटाउने बैंकहरू:

  • एनआईसी एशिया बैंक: व्यक्तिगत ६% (पहिले ६.२५%), संस्थागत ५% (पहिले ५.२५%)
  • नेपाल बैंक लिमिटेड: व्यक्तिगत ५.२५% (पहिले ५.४%), संस्थागत ३.२५% (पहिले ३.७५%)
  • एभरेष्ट बैंक: व्यक्तिगत ५.२५% (पहिले ५.७५%), संस्थागत ४.२५% (पहिले ४.७५%)
  • सिटिजन्स बैंक: व्यक्तिगत ५.२५% (पहिले ५.५%), संस्थागत ३% (पहिले ३.२५%)
  • सानिमा बैंक: व्यक्तिगत ५.२५% (पहिले ५.७५%), संस्थागत ३.५% (पहिले ३.७५%)
  • प्राइम कमर्सियल बैंक: व्यक्तिगत ५.५% (पहिले ६%), संस्थागत २.७५% (पहिले ३.१%)
  • नेपाल एसबीआई बैंक: व्यक्तिगत ५.१८% (पहिले ५.२५%), संस्थागत ४.१८% (पहिले ४.२५%)
  • कृषि विकास बैंक: व्यक्तिगत ५.०५% (पहिले ५.२०%), संस्थागत ३% (पहिले २.८५%) — व्यक्तिगत घट्यो, संस्थागत बढ्यो
  • कुमारी बैंक: व्यक्तिगत ५.०१% (पहिले ५.२१%), संस्थागत ४.०१% (स्थिर)

ब्याजदर बढाउने बैंकहरू:

  • स्ट्याण्डर्ड चार्टर्ड बैंक: व्यक्तिगत ५.१८% (पहिले ५.१३%), संस्थागत २.७५% (स्थिर)
  • लक्ष्मी सनराइज बैंक: व्यक्तिगत ५.२५% (पहिले ५%), संस्थागत ४% (स्थिर)

निष्कर्ष:

बैंकहरू ब्याजदर घटाउने रणनीतिमा देखिएका छन्, जसको असर साधारण निक्षेपकर्तादेखि ठूला संस्थागत लगानीकर्तासम्म पर्न सक्छ। बजारमा तरलता व्यवस्थापन र ऋण प्रवाह सन्तुलनमा राख्न बैंकहरूले ब्याजदर समायोजन गरिरहेका छन्।

सेनाको सुरक्षाबाट बाहिर निस्किए प्रचण्ड, नयाँ पार्टी कार्यालय निर्माणको घोषणा

0

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ र आधुनिक केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरेका छन्। पेरिसडाँडास्थित क्षतिग्रस्त पार्टी कार्यालयको निरीक्षण गर्न मंगलबार पुगेका प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ठुलो क्षति पुर्‍याएको उल्लेख गर्दै सबैको सहयोगमा नयाँ भवन बनाइने बताएका हुन्।

क्षति त भयो, तर अब हाम्रो ध्यान पुनर्निर्माणमा छ। सबैको साथ र योगदानमा नयाँ पार्टी कार्यालय निर्माण हुनेछ,” प्रचण्डले भने।

जेनजी आन्दोलन सुरु भएपछि केही दिन सैनिक ब्यारेकमा बसेका प्रचण्ड आन्दोलनपछिको पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्। उनले नेताहरूको टोलीसहित कार्यालयभित्र रहेको सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गरे।

कार्यालय अवलोकनका क्रममा उनले आगजनीका बीच पनि केही महत्वपूर्ण कागजात, कम्प्युटर र पुस्तकालय सुरक्षित रहनु सकारात्मक पक्ष भएको भन्दै त्यहाँ कार्यरत श्रमिक तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे।

पार्टीका कागजातहरू जोगिएको सुनेर खुसी लाग्यो, त्यस्तै केही कम्प्युटर र पुस्तकालय पनि सुरक्षित रहेछन्, त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।

त्यसैगरी, उनले पार्टीका युवाहरूले छोटो समयमै गरेको सफाइ कार्यको पनि प्रशंसा गरे। “दुई दिनमै सफाइलाई उल्लेखनीय स्तरमा पुर्‍याउनुभएको छ। युवाहरूको यो समर्पणले कार्यालय पुनः व्यवस्थित हुँदैछ,” प्रचण्डको भनाइ थियो।

आन्दोलनले बन्द सेयर बजार खोल्ने सेबोनको निर्णय

0

लामो समयदेखि बन्द रहेको सेयर बजार अब पुनः सञ्चालनमा आउने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट असोज २ गतेदेखि सेयर कारोबार सुचारु गर्ने निर्णय गरेको छ।

सेयर बजार जेनजी आन्दोलनका कारण अस्थायी रूपमा बन्द गरिएको थियो। तर, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले असोज १ गतेबाट कारोबार सुरु गर्न अनुमति माग्दै सोमबार सेबोनमा पत्र पठाएको थियो। सोही आवेदनको आधारमा सेबोनले बजार खोल्ने निर्णय लिएको हो।

धितोपत्र बोर्ड निकट स्रोतका अनुसार, सार्वजनिक विदा परेको कारण असोज १ गते कारोबार नहुने भए पनि असोज २ गतेबाट सेयर कारोबार नियमित रुपमा साबिककै समय अनुसार सञ्चालन हुनेछ।

बोर्डले आंशिक कारोबार, सर्किट ब्रेकरको परिवर्तन जस्ता सुरक्षात्मक उपायसहित बजार खोल्ने तयारी गरे पनि नेप्से त्यसमा सहमत नहुँदा, अन्ततः साबिककै व्यवस्था अनुसार पूरै समय बजार सञ्चालनमा ल्याउने निर्णय भएको हो।

यससँगै लामो समयदेखि पर्खाइमा रहेका लगानीकर्ताले पुनः कारोबार गर्न पाउने भएका छन्।

डा. सन्दूक रुइतद्वारा सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार

0

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई सरकारमा सहभागी गराउने प्रस्ताव अघि सारेकी थिइन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग अन्तरिम मन्त्रिपरिषद् प्रवेशको सम्भावना बारे छलफलसमेत गरेकी थिइन् ।

तर, रुइतले अस्पताल र बिरामीलाई प्राथमिकता दिनुपर्ने कारण देखाउँदै मन्त्री बन्न अस्वीकार गरेका छन् । उनले सरकारलाई बाहिरबाट सहयोग गर्ने तर पद ग्रहण नगर्ने स्पष्ट जवाफ दिएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा रुइतको नाम चर्चामा आए पनि उनले आफ्नो पेसागत जिम्मेवारीमै समर्पित रहने बताउँदै आएका छन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनपछि जनजीवन सामान्य

0

काठमाडौं, भदौ २७
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेसँगै जेनजी आन्दोलनपश्चात अस्तव्यस्त बनेको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।


कर्फ्यु र निषेधाज्ञा हट्दै

देशका अधिकांश क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा हटाइए पनि ललितपुरमा अझै कायम छ।
त्यहाँबाहेकका क्षेत्रमा नागरिकहरू आफ्नो पेशा–व्यवसायमा फर्किएका छन् र सुरक्षाको अवस्था सामान्य देखिएको छ।


प्रशासनिक बैठक आज

काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज बस्दैछ।
बैठकले रातको समयमा निषेधाज्ञा जारी गर्ने वा हटाउने विषयमा ठोस निर्णय गर्नेछ। साथै, ललितपुरको निषेधाज्ञाबारे पनि निर्णय हुने अपेक्षा गरिएको छ।


यातायात नियमित

गत मंगलबारदेखि पूर्ण रूपमा ठप्प रहेको सार्वजनिक यातायात शनिबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ।
शुक्रबार फाट्टफुट्ट गुडेका सवारी साधन आज बिहानदेखि बाक्लो संख्यामा सडकमा देखिएका छन्।


नयाँ सरकार र मध्यावधि चुनाव

हिजो मध्यराति जेनजी आन्दोलनकारीको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।
त्यसलगत्तै प्रधानमन्त्री कार्कीको सिफारिसमा पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए।

नयाँ सरकारले आगामी फागुन २१ गते मध्यावधि चुनाव घोषणा गरेको छ। राजनीतिक अन्यौल घटेर अन्तरिम सरकार बनेपछि स्थानीय प्रशासन र सेनाको समन्वयमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाइएको हो।

नेपाली कांग्रेसको कडा आपत्ति: संसद् विघटन असंवैधानिक

0

प्रतिनिधिसभा विघटनको निर्णयप्रति नेपाली कांग्रेसले कडा विरोध जनाएको छ। शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेपछि कांग्रेसले यस कदमलाई लोकतान्त्रिक उपलब्धि र हालको जेनजी आन्दोलनको भावनामाथि प्रहार भएको बताएको हो।

केन्द्रीय बैठकको निष्कर्ष

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधान र सर्वोच्च अदालतको व्याख्याविपरीत भएको ठहर गरेको छ।
“यो कदमले लोकतन्त्र धरापमा परेको छ र जेनजी आन्दोलनको मर्ममाथि प्रहार भएको छ,” कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकपछि पत्रकारसँग भने।

सभापति शेरबहादुर देउवा आन्दोलनका क्रममा भएको कुटपिटबाट घाइते भएर हाल उपचाररत रहेको पनि बैठकमा जानकारी दिइएको छ।

विघटनअघि कांग्रेसको सुझाव

कांग्रेसले भदौ २५ मा विज्ञप्ति जारी गर्दै राष्ट्रपतिलाई जेनजी आन्दोलनको माग सम्बोधन गर्न संवाद र अन्तरिम सरकार गठनमार्फत संविधानसम्मत बाटो अपनाउन सुझाव दिएको थियो।
“हामीले प्रस्ताव गरेको बाटोले आन्दोलनकारीको माग सम्बोधन हुन्थ्यो र संविधानको रक्षा पनि,” विज्ञप्तिमा भनिएको थियो।

तर, उक्त सिफारिसलाई बेवास्ता गर्दै संसद् विघटन गरिएकोमा कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ।

छानबिन र एकताको आह्वान

कांग्रेसले भदौ २३–२४ का अप्रिय घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न जोड दिएको छ।
पार्टीले स्वदेश–विदेशमा रहेका नेपालीलाई संयम र एकताका लागि आह्वान गर्दै शान्ति र लोकतन्त्रको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता प्रकट गरेको छ।

लोकतन्त्र जोगाउने दृढता

“लोकतान्त्रिक उपलब्धि जोगाउन र संवैधानिक रिक्तता रोक्न कांग्रेस दृढ छ,” विज्ञप्तिमा भनिएको छ।

नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक र लोकतन्त्रविरोधी भन्दै तत्काल छानबिन, दोषी कारबाही र संविधानको रक्षा सुनिश्चित गर्न सरकार र राष्ट्रपतिलाई आग्रह गरेको छ।

काठमाण्डौमा आंशिक रुपमा खुले बैंक

0

काठमाडौं । बैंकहरुले आज (बिहीबार)देखि काठमाडौं उपत्यकामा आंशिक सेवा सुचारु गरेका छन्। नेपाल बैंकर्स एशोसिएसन (एनबीए) को बिहीबार बिहान बसेको बैठकले नेपाली सेनासँग समन्वय गर्दै सुरक्षित ढंगले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय गरेपछि बैंकका केही शाखा खुल्न थालेका हुन्।

शाखा खुल्ने व्यवस्था

निर्णयअनुसार हालका लागि काठमाडौंमा कम्तीमा ३ वटा, ललितपुरमा २ र भक्तपुरमा २ वटा शाखा सञ्चालनमा आएका छन्। बैंकहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुल्नेछन्।
एनबीएले परिस्थिती सामान्य हुँदै गएसँगै शाखा संख्या र सेवा समय क्रमशः बढाउँदै लैजाने जनाएको छ।

उपत्यकाबाहिरको व्यवस्था

उपत्यकाबाहिरका शाखाहरु पनि स्थानीय प्रशासनसँगको सहकार्यमा सुरक्षा मूल्याङ्कन गरेर आवश्यकताअनुसार सञ्चालन गर्न सकिने निर्णय भएको छ।

पूर्णरुपमा खुलेका विभाग

आजदेखि बैंकहरुले अन्तर्राष्ट्रिय कारोबार, स्वीफ्ट, क्लियरिङ सेवा र आइटी विभाग पूर्णरुपमा सञ्चालनमा ल्याएका छन्।

‘सुशीला कार्कीलाई हुँदैन’ भन्ने समूहलाई सेनाले हटायो, जंगीअड्डा वरपर आन्दोलन चर्कियो

0

काठमाडौंको जंगीअड्डा वरपर युवाहरुले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने तयारीविरुद्ध नाराबाजी सुरु गरेका छन्। उनीहरुले कुलमान घिसिङ, महावीर पुन, सागर ढकालजस्ता स्वतन्त्र व्यक्तिलाई सरकारको नेतृत्व दिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन्।

सेनाको चेतावनी

सेनाले केहीबेर अघिदेखि निरन्तर माइकिङ गर्दै जंगीअड्डा वरपर भीडभाड नगर्न आग्रह गर्दै आएको छ। प्रदर्शनकारीहरुलाई हटाउने प्रयास भइरहेको भए पनि युवाहरु भने धरहरा, रत्नपार्क लगायत क्षेत्रमा समूह–समूहमा भेला भएर आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

भारतीय मिडियाविरुद्ध आक्रोश

प्रदर्शनकारीहरुले भारतीय मिडियालाई जंगीअड्डाभित्र प्रवेश दिइएको तर नेपाली मिडियालाई रोकिएको भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरुले “गो ब्याक इण्डिया” जस्ता नारा घन्काएका छन्।

नेपाली मिडियामाथि रोक

माइतीघर क्षेत्र पुगेका नेपाली मिडियालाई सेनाले त्यहीँबाट फर्काइदिएको छ। संवाददाताका अनुसार सेनाले माइतीघरबाट अगाडि बढ्न प्रतिबन्ध लगाएको छ।

परिस्थितिले काठमाडौं उपत्यकामा आन्दोलन अझ चर्किँदै गएको संकेत देखाएको छ।

हामी Gen Z : परिवर्तनको बाटोमा

0

हामी Gen Z,
आजको नेपालमा हामी मात्र एउटा पुस्ता होइनौँ, हामी परिवर्तनको प्रतिक हौँ।
हामीले भोगेको अवस्था साधारण छैन—३५ वर्षदेखि देशलाई लुट्नेहरू अझै पदमा छन्, अझै शक्तिमा छन्, अझै मौन छन्। प्रधानमन्त्री उही, राष्ट्रपति उही, संसद उही, न्यायाधीश उही, संविधान उही। न कुनै संकटकाल, न कुनै गिरफ्तारी, न कुनै मुद्दा।
सबै कुरा यथावत् छ—तर हामी मौन छैनौँ।

संसद भवन, सिंहदरबार, न्यायपालिका—यी हाम्रो सार्वभौमिकताको प्रतीक हुन्। यी किन जलाइयो? कसले जलायो? यसको जवाफ समयले दिनेछ। तर एउटा कुरा निश्चित छ—यी संरचनाहरू फेरि उठ्नेछन्। तर यसपटक पुनर्निर्माण इमान्दार करदाताको पसिनाले होइन, लुटेका नेताहरूको अवैध सम्पत्तिबाट हुनेछ।

हामीलाई थाहा छ—हाम्रो आन्दोलनलाई कमजोर पार्न धेरैले खेल खेले। बाह्य शक्ति, आन्तरिक स्वार्थी गुट र लोभी नेताहरूले आन्दोलनलाई बदनाम गर्न सार्वजनिक सम्पत्ति तहसनहस गरे। तर इतिहास गवाह छ—भवन ढल्दा पनि आन्दोलनको आत्मा कहिल्यै ढल्दैन।

यही कारण, हामी Gen Z भन्छौँ—हाम्रो बाटो हिंसा होइन, हाम्रो बाटो शान्ति र संयम हो। हाम्रो माग केवल सडकमा चिच्याएर सकिँदैन। हाम्रो संघर्ष पुस्तौँसम्म अन्याय भोगेका आम जनताको सपना पूरा गर्ने मार्ग हो।

साँचो परिवर्तन तब मात्र हुनेछ जब—

नयाँ पुस्ताको प्रधानमन्त्रीको नेतृत्वमा शक्तिशाली नागरिक सरकार स्थापना हुन्छ,

वर्तमान संसद बिघटन भएर स्वच्छ जनप्रतिनिधि चुनिन्छन ।

दलको कृपामा बस्ने न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीहरूले पदत्याग गर्छन्,

र एउटा अन्तरिम संविधान जनताको आवाजमा लेखिन्छ।

तर यो सजिलो छैन। परिवर्तनका लागि निरन्तर खबरदारी, सजगता र जनताको सामूहिक दबाब आवश्यक छ।
आन्दोलनले कुनै ऐतिहासिक धरोहर, सांस्कृतिक सम्पदा वा सरकारी अभिलेख नष्ट गर्नु हुँदैन। किनकि हाम्रो शक्ति तोडफोडमा होइन—शान्तिपूर्ण तर दृढ प्रतिरोधमा छ।

हामी थाक्दैनौँ । हामी पछि हट्दैनौँ ।
देश–विदेशमा रहेका सबै नेपालीको मनमा एउटै आवाज छ—देश पहिले, हामी पछि।
हामी निदाउन सक्दैनौँ किनकि देश हारेको छ। तर भ्रष्ट नेताहरू विलासी जीवनमा रमाइरहेका छन्। अब त्यो दिन टाढा छैन जब उनीहरूको सम्पत्ति राज्यले कब्जा गर्नेछ, र त्यो सम्पत्ति जनताको भविष्य बनाउन प्रयोग हुनेछ।

हामी नतमस्तक छौँ ती महान आमाहरूप्रति जसले आफ्ना छोराछोरीलाई देशका लागि अर्पण गर्नुभयो। हामी श्रद्धाञ्जली अर्पण गर्छौँ ती सहिदलाई जसको बलिदानले हाम्रो आत्मालाई जागृत गर्‍यो।

हाम्रो आन्दोलन आक्रोश मात्र होइन—यो सपना हो।
हाम्रो सपना भ्रष्टाचारमुक्त नेपाल, समतामूलक समाज र गौरवशाली भविष्य हो।
यो सपनालाई अब कसैले दबाउन सक्दैन।

देश अवश्य बन्छ।
देश लुट्नेहरूको पालो सकिएको छ।
अब हाम्रो पालो आएको छ—देश बनाउने, देश उठाउने, र भविष्य उज्यालो बनाउने।

जेन्जी पुस्ताका बसन्त गिरी को बिचार

जेनजी आन्दोलनकारीको आक्रमणपछि देउवा दम्पत्तिको स्वास्थ्य अवस्था खतरामुक्त

0

काठमाडौं । जेनजी आन्दोलनकारीद्वारा मंगलबार बुढानीलकण्ठस्थित निवासमै निर्घात आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनीनिकट स्रोतले जनाएको छ।

आन्दोलनकारीहरूले देउवा दम्पत्तिमाथि घरभित्रै प्रवेश गरी कुटपिट तथा आक्रमण गरेका थिए। उक्त घटनापछि रगताम्य अवस्थामा रहेका देउवा दम्पत्तिलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल उद्धार गरी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो।

तर, सुरक्षात्मक कारण देखाउँदै उनलाई सैनिक अस्पतालबाट पनि सारेर सुरक्षित र गोप्य स्थानमा राखी उपचार भइरहेको बताइएको छ। स्रोतका अनुसार देउवा र उनकी पत्नी दुवै खतरामुक्त अवस्थामा छन् र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।

यो घटनाले राजधानीमा मात्रै नभई देशभरको राजनीतिक वातावरणमा थप तनाव सिर्जना गरेको छ। सुरक्षाकर्मीहरूले आक्रमणमा संलग्न भएको आशंका गरिएका केही व्यक्तिलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।