सेयरबजारको घन्टा घन्टाको उतारचढाव हेरेर नीति बनाउँदैनौँ , दूरगामी असर मुख्य कुरा : अर्थमन्त्री स्वर्णिम वाग्ले

spot_imgspot_imgspot_img

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयरबजारको दैनिक वा घण्टैपिच्छेको उतारचढावलाई आधार बनाएर पूँजीबजारसम्बन्धी नीति निर्माण नगर्ने बताएका छन्।

शुक्रबार संघीय संसद्को प्रतिनिधिसभामा आर्थिक विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकार अल्पकालीन बजार प्रवृत्तिभन्दा दीर्घकालीन नीतिगत सुधारमा केन्द्रित रहेको बताए।

‘एक–एक घण्टाको अन्तरमा पूँजीबजार सूचक तल जान्छ कि माथि भनेर हामी हेर्दैनौँ। हामी युगौँसम्म प्रभाव पार्ने दूरगामी नीतिहरू निर्माण गर्नेतर्फ केन्द्रित छौँ,’ उनले भने।

अर्थमन्त्री वाग्लेले हाल पूँजीबजार तथा बीमा क्षेत्रसँग सम्बन्धित एक खर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएका मुद्दाहरू विभिन्न निकायमा विचाराधीन रहेको उल्लेख गर्दै त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए।

‘एक खर्बभन्दा बढीको बिगो माग गर्दै मुद्दा चलिरहेको छ। त्यसको केन्द्रविन्दुमा हाम्रो क्यापिटल मार्केट पनि रहेको छ। अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा म पनि पर्छु कि, हामी पनि तानिन्छौँ कि भन्ने भय र त्रास केही लगानीकर्तामा देखिएको हुनसक्छ,’ उनले भने।

यद्यपि, सरकारले सार्वजनिक गरेको बजेटमा समेटिएका नीतिगत व्यवस्थाहरूको प्रभाव क्रमशः देखिन थालेपछि लगानीकर्ताको आत्मविश्वास बढ्ने र बजारमा सकारात्मक वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।

‘बजेटले तय गरेको लक्ष्य र दिशाको नतिजा देखिन थालेपछि निजी क्षेत्र अझ उत्साहित भएर अघि बढ्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षका लागि ल्याइएको बजेट निजी क्षेत्रको मनोबल उच्च बनाउने, लगानी प्रोत्साहन गर्ने तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ तयार गरिएको दाबी गरे।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here