काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी थप कडा बनाइएको छ। पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५१९ जना सवारीचालकलाई कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १९ लाख ३१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमित अनुगमन र चेकजाँच अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार सबैभन्दा बढी कारबाही सामान्य तथा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमाथि गरिएको छ। तथ्याङ्कअनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९२ जना चालक कारबाहीमा परेका छन् भने अनुमति तथा नियमविपरीत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गर्ने १६३ जना चालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको छ।
त्यसैगरी ट्राफिक सङ्केत बत्तीको अवज्ञा गर्ने ९९ जना, निर्धारित गति सीमा नाघेर सवारी चलाउने ११५ जना तथा लेन अनुशासन उल्लङ्घन गर्ने १०९ जना चालकलाई जरिवाना गरिएको छ। निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने १०० जना चालक पनि कारबाहीको दायरामा परेका छन्।
सडकमा ध्वनि प्रदूषण नियन्त्रणका लागि यस्ता गतिविधिमाथि विशेष निगरानी राखिएको ट्राफिक प्रहरीले जनाएको छ। यस्तै लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने तीन जना चालक पक्राउ परेका छन् भने वातावरणीय मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १९ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको छ।
यस बाहेक आवश्यक कागजात नबोक्ने, सवारी सञ्चालनसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने तथा अन्य विविध कसुरमा एक हजार ८१९ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार बढ्दो सवारी चापका बीच सडक अनुशासन कायम राख्न नियमित निगरानी, प्रविधिमार्फत अनुगमन तथा आकस्मिक चेकजाँचलाई निरन्तरता दिइनेछ। साथै चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, सुरक्षित गतिमा सवारी चलाउन तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरिएको छ।
प्रहरीले नियमको पालना भए सडक दुर्घटना न्यूनीकरण हुनुका साथै सडक यातायातलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।




