माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख २७ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गरेको थियो। उक्त समूहका लागि छुट्याइएको सेयर बाँडफाँड सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ बिक्री छिटोमा असार ८ गते र पूर्ण आवेदन नपरेमा ढिलोमा असार १७ गतेसम्म खुला रहनेछ।
कम्पनीलाई रेटिङ संस्था केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी (CARE-NP BB)’ इस्युयर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी NIMB Ace Capital Limited ले सम्हालेको छ।




