कोरला नाका हुँदै भित्रिएका ७७४ ईभी नियन्त्रणमा, भन्सार छलीको आशंका

spot_imgspot_imgspot_img

 भन्सार छली गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार प्राप्त गोप्य सूचनाका आधारमा मुस्ताङको कोरला नाका हुँदै नेपाल प्रवेश गरेका हुन सक्ने ती सवारीसाधनमाथि विभिन्न जिल्लामा एकसाथ निगरानी तथा जाँच अभियान सञ्चालन गरिएको थियो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले प्रारम्भिक अनुसन्धानबाट ती ईभीहरू कोरला नाका हुँदै नेपाल भित्रिएको देखिएको जानकारी दिए। जाँच अभियानका क्रममा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा तथा कास्कीको हेम्जा क्षेत्रबाट सयौं विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएको हो।

कारबाहीका लागि मुस्ताङस्थित नं. ३३ गुल्म, म्याग्दी गुल्म, पर्वतको नं. २५ चण्डिका गण तथा कास्कीको नं. २४ कालिका गणबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो। ती टोलीहरूले आवश्यक भन्सार प्रक्रिया पूरा नभएको आशंकामा सवारीसाधनहरू नियन्त्रणमा लिएका हुन्।

यसैबीच, नुवाकोटको पासाङल्हामु राजमार्ग क्षेत्रमा गरिएको चेकजाँचका क्रममा थप दुई वटा सवारीसाधन पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेका सवारीसाधनहरूको आयात प्रक्रिया, तिर्नुपर्ने राजस्व तथा सम्बन्धित कागजातबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अनुसन्धान सम्पन्न भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने र सम्बन्धित निकायसँग समन्वय गरी थप कारबाही गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।

भन्सार छलीको आशंकामा एकैपटक यति ठूलो संख्यामा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएको घटना पछिल्ला वर्षहरूकै ठूलो कारबाहीमध्ये एक मानिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here