एभरेष्ट बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
यद्यपि, बैंकको वितरणयोग्य मुनाफा भने बढेको छ। समीक्षा अवधिमा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.०५ प्रतिशतले बढी हो।
पश्चिम एशियामा उत्पन्न द्वन्द्वका कारण सिर्जित विषम परिस्थितिका बाबजुद बैंकले आफ्नो व्यवसायिक प्रदर्शनमा सुधार देखाएको छ। बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशतले वृद्धि भई ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी पनि उल्लेख्य रूपमा बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ९ करोड रुपैयाँ थियो।
१३ अर्ब ७२ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। साथै, रिजर्भ कोष १५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १३ अर्ब ८६ करोड रुपैयाँ थियो।
बैंकले निस्क्रिय कर्जा घटाउन पनि सफलता हासिल गरेको छ। अघिल्लो वर्ष ०.६४ प्रतिशत रहेको निस्क्रिय कर्जाको अनुपात घटेर ०.६१ प्रतिशतमा झरेको छ।
यस अवधिमा बैंकको रिटर्न अन इक्विटी (आरओई) भने घटेको छ। अघिल्लो वर्ष १५.८२ प्रतिशत रहेको आरओई घटेर १३.५६ प्रतिशतमा सीमित भएको छ। तर प्रतिसेयर नेटवर्थ भने २३५.४७ रुपैयाँबाट बढेर २४४.२७ रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ थियो।
बैंकको कस्ट अफ फण्ड ४.११ प्रतिशतबाट घटेर ३.३१ प्रतिशतमा आएको छ भने आधार दर ५.४५ प्रतिशतबाट घटेर ४.५७ प्रतिशतमा झरेको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी (ईपीएस) ३२.३५ रुपैयाँ, पी/ई अनुपात २१.५८ गुणा र तरलता अनुपात २६.७४ प्रतिशत कायम रहेको छ।




